धनगढी: एक बिरामीको उपचारकै क्रममा मृत्यु र त्यसपछि अनधिकृत रुपमा सेवा सञ्चालन गरेको भन्दै बन्द गरिएपछि धनगढीको स्वस्तिक अस्पताल विवादमा तानियो। भदौ २६ गते मंगलबारका दिन जिल्ला प्रशासन कार्यालय कैलालीसहितको अनुगमन टोलीले अनधिकृत रुपमा अस्पताल सञ्चालनमा रहेको भन्दै बन्द गराइदिएको थियो।
यानिकी सम्बन्धित निकायबाट अनुमति नलिई सेवा सञ्चालन गरिएको पाइएको थियो। त्यसपछि त्यसको अर्को दिन बुधबार अस्पताल बन्द रह्यो।
तर, त्यहीँ दिन बन्द भएको केही समयमै स्वस्तिक अस्पताललाई धनगढी उपमहानगरपालिकाले सट्याकसुटुक एक वर्षका लागि १५ शय्या क्षमताको अस्पताल सञ्चालन अनुमति प्रदान गरेको थियो। प्रशासनसहितको टोलीले अनुमति बिनै सञ्चालित भएको भन्दै बन्द गराएको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालिलाई धनगढी उपमहानगरपालिकाले सञ्चालन अनुमति दिएको हो।
स्रोतका अनुसार सो दिन अनुमतिको पत्र पनि धनगढीस्थित नगरप्रमुख गोपाल हमाल (गोपी) को निजी होटेलबाटै सट्याकसुटुक दिइएको थियो। अस्पताललाई अनुमति दिन धनगढीको आफ्नै कानुनी प्रावधान, प्रक्रिया, मापदण्ड र ऐन छ। तर, धनगढी उपमहानगरले आफ्नै ऐन मिचेर अनुमती दिएको जनाइएको छ।
उपमहानगरको निजी अस्पतालसम्बन्धिको ऐनमा अस्पताल सञ्चालन गर्न चाहने निकायले अनुमतिको लागि तोकिएको निवेदन दिएपछि स्वास्थ्य अनुगमन समितिले प्राप्त निवेदन उपर छलफल तथा आवश्यक अनुगमन गरी तोकिएको मापदण्ड पुरा गरेमा अस्पताल सञ्चालनको स्वीकृति प्रदान गर्न सक्नेगरी आशय पत्र प्रदान गर्न नगर कार्यपालिकालाई सिफारिस गर्ने भनिएको छ। यस्तै नगर कार्यपालिकाले दुई वर्षभित्र तोकिएको मापदण्ड पुरा गरेमा अस्पताल सञ्चालनको स्वीकृति प्रदान गर्न सकिने प्रकारको आशय पत्र प्रदान गर्नेछ। तोकिएको समयसीमा भित्र यसै ऐन बमोजिम तोकिएको पूर्वाधार तयार गरी स्वीकृतिका लागि नगर कार्यपालिकामा निवेदन दिनुपर्ने कुरा उल्लेख गरिएको छ। त्यसपछि निवेदन उपर आवश्यक अनुगमन गरी तोकिएको मापदण्ड पुरा गरेको ठहर भएमा अस्पताल सञ्चालनको अनुमति प्रदान गर्न सक्ने भनिएको छ। तर उपमहानगरले भने अनुगमन नै नगरी अनुमति दिएको स्रोतको दाबी छ।
यस्तै धनगढी उपमहानगरका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले पनि अनुगमन गरिएको/नगरिएको र किन सट्याकसुटुक अनुमति दिइएको ? भन्नेबारे बोल्न चाहेनन्। उनले सबै कुरा थाहा नभएको भन्दै हेरेर बताउने भनेपनि त्यसपछि भने फोन नै उठाउन छोडेका छन्। यसैबाट उपमहानगरको कैफियत पुष्टि हुन जान्छ।
धनगढी उपमहानगरपालिकाको भने अनुमती दिने बेला स्वास्थ्य सेवा ऐन २०७७ र धनगढी उपमहानगरपालिकाको स्वास्थ्य संस्था दार्ता, नविकरण, स्तरोन्नति तथा सेवा थप सम्बन्धि कार्यविधि २०७७ को दफा ५ को उपदफा (४) बमोजिम एक वर्षका लागि सञ्चालन गर्न इजाजत दिइएको बताएको थियो। १५ शय्याको अस्पताल सञ्चालनको अनुमती पाएपछि अहिले स्वस्तिकले आफ्ना सेवाहरु निरन्तर सञ्चालन गरिरहेको छ।
यस्तै प्रशासनले अनुगमनका क्रममा बन्द गराउन भनेको अर्को अस्पताल संजिवनीलाई भने अहिलेसम्म धनगढी उपमहानगरपालिकाले सञ्चालन अनुमति दिएको छैन। स्वस्तिक भन्दा अगाडि नै निवेदन दिएको सो अस्पताल अनुमतिका लागि कुरिरहेको छ। अनुमती नै नपाएपछि अहिले सो अस्पताल बन्द छ भने सञ्चालकहरुले आफूहरू अनुमतिको लागि उपमहानगर जादाजादा निद हराम भएको गुनासो गरेका छन्।
कानूनअनुसार सेवा सञ्चालन गर्न १५ शय्याको अस्पतालका लागि स्थानीय तह, २५ शय्याको अस्पताल सञ्चालनको अनुमति प्रदेश स्वास्थ्य निर्देशनालय, दुई सय शय्याको अस्पतालका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र त्योभन्दा माथिको अस्पताल सञ्चालनको अनुमति संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्ने व्यवस्था छ।