काठमाडौँ : सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीलाई दैनिक रासनका लागि छुट्याइने रकम साह्रै न्यून भएको बताएका छन् । मुलुकको आर्थिक अवस्था कमजोर रहे पनि दैनिक प्रहरीलाई छुट्याइएको २ सय ३ रुपैयाँले नपुग्ने गरेको बताए ।
प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा महानिरीक्षक अर्यालले रासनका लागि छुट्याइएको रकमबारे सांसदहरूलाई जानकारी गराएका हुन् । सांसदहरूले पनि उक्त कुरालाई चासोका साथ लिएका थिए ।
‘रासनसम्बन्धी समस्या छ । हुन त देशको आर्थिक अवस्था नै त्यस्तै छ तर सुरक्षामा अलिकति ध्यान दिनुपर्ने १ उदाहरणका लागि काठमाडौंमा हेर्दा २०३ रुपैयाँले बिहान चिया अण्डा त्यसपछि खाना (लन्च) त्यसपछि खाजा र बेलुका खाना, चार छाक खानुपर्छ । रासनको अवस्था यस्तो छ, ’उनले भने । सांसदहरूले एक छाकको २ सय ३ रुपैयाँ कि दिनभरका लागि ? भनेर चासो राखेका थिए ।
काँग्रेस सांसद दिलेद्रप्रसाद बडू, सरिता प्रसाईँ, एमालेका रघुजी पन्त, राप्रपाका बुद्धिमान तामाङ, जसपाका प्रकाश अधिकारीले सुरक्षाकर्मीका लागि दैनिक रासनको रकमबारे चासो देखाएका थिए । उक्त रकम अत्यन्तै न्यून रहेको उनीहरूको भनाइ थियो ।
अर्यालले थपे, तर, ठाउँ-ठाउँमा रासनको यस्तो भयो, दुरुपयोग भयो भन्ने कुरा पनि आउँछ । हामी कहीँ गएर एउटा साधारण रेष्टुरेन्टमा खाँदा कति खर्च हुन्छ ? यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने अवस्था आएको छ । ‘रासनका लागि आउने रकममा दुरुपयोग नभएको उनको भनाइ थियो ।
‘२०३ रुपैयाँले दैनिक २ छाक खाना र २ पटक खाजा खानुपर्छ । हामीले समूहमा पकाएर खाँदाखेरि कहिले काँचो हुन्छ, कहिले दाल पुग्दैन, कहिले तरकारीका कुरा पनि आउँछन्, ’उनले भने, हामीले बोल्दै हिँड्ने कुरा पनि भएन, आज यति ठूलो फोरममा त्यहाँसम्मको कुरा पनि राख्न पाइयो ।’
महानिरीक्षक अर्यालले सीमा सुरक्षा पोस्ट बलियो नभएको, सीमामा पिच सडक नहुँदा पनि सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको बताए । उनले सीमामा छाप्रो बनाएर भएपनि सुरक्षामा खटिइरहेको भन्दै बजेट थप्नुपर्ने आग्रह गरेका थिए ।
राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्यसचिव वैकुण्ठ अर्याल, गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलगायतको उपस्थिति थियो ।