बाँके: बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु वाल सुधार गृहमा रहेका दुई समूहबिच झडप भएको छ। राती भएको झडपमा एक जनाको निधन भएको छ भने १० जना गम्भीर घाइते भएको बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरले जानकारी दिए।
दोहोरो झडपमा घाइते भएका अपहरण, शरिरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय पाएका कपिलवस्तु रुद्रपुरका सुलभ केसीको उपचारका क्रममा अस्पतालमा निधन भएको हो। गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ।
थुनुवाका बीचमा झगडा हुँदा बाल सुधारगृहमा तोडफोड र आगजनी गर्नुका साथै हानाहान भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए। बाल सुधारगृहबाट कति थुनुवा भागे भन्ने यकिन हुन सकेको छैन।
बाँके प्रहरी प्रवक्ता डीएसपी डाँगीका अनुसार, बाल सुधार गृहमा २ सय ५४ जना थुुनुवा छन्। त्यसमध्येमा कति फरार भए यकिन हुन सकेको छैन। बिहानसम्म प्रहरी बाल सुधारगृहभित्र जान सकेको छैन। थुनुवाहरु हातमा शिशा समातेर बसेका छन्।