काठमाडौँ : नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले शिक्षा विधेयकलाई आवश्यक संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको हो ।
बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव सुनाउँदै विद्यालय शिक्षा विधेयकबारे पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।
शर्माका अनुसार कांग्रेसले सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिलाई सकारात्मक रूपमा लिएको छ ।
कांग्रेसले विद्यालयको पठन पाठन सहज ढंगले हुने वातावरण निर्माण गर्न पनि अपिल गरेको छ ।
यता सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले भने असहमति जनाएका छन् ।
२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षकहरू विस्थापित नहुने गरी ऐन बन्नुपर्ने माग बैठकमा राखिएको तर सुनुवाइ नभएको राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताएका छन् ।