काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा अनियमितता भएको निष्कर्ष निकालेको छ । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा मुचुल्का अनुसार जडान नभएको र छानबिन सुरु गरेपछि सुनको पेटी थप्ने काम भएको भन्दै अनियमितता भएको निष्कर्ष निकालेको हो ।
इमान्दारितापूर्वक काम भएको थियो भने मुचुल्कामा पछि थपघट गर्नुपर्ने अवस्था नहुने अख्तियार उच्च स्रोत बतायो । दुई वर्षअघि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको मन्दिर पुगेर सुनको जलहरी राख्न ३० करोड रुपैयाँ दिने घोषणा गरेका थिए । चौतर्फी विरोधका बावजुद पशुपति क्षेत्र विकास कोषले मन्दिरमा चाँदीको साटो सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।
जलहरी निर्माणका लागि करिब एक सय किलो सुन लाग्ने स्टिमेट भए पनि १०८ किलो चाहिने भनी निर्णय भएको थियो । १२ फागुन २०७७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिमा क्षमापूजा गर्दा १०८ किलोको जलहरी निर्माण गरी राखिएको भन्ने ब्यानर नै तयार गरिएको थियो ।
पशुपति क्षेत्र विकास कोषले १०३ किलो ७७३ ग्राम सुन किनेको हिसावकिताव छ । त्यसमा २ किलो ८९० ग्राम तामा, १ किलो २४९ ग्राम पित्तल, १२ ग्राम जिंक समेत गरी १०७ किलो ९२४ ग्राम सुन कायम गरियो । १०८, १००८ जस्ता अंश शुभको प्रतिक मानिने भएकाले १०८ किलो सुनको जलहरी राख्ने भनिएको थियो ।
जलहरी बनाएर तयार पारिएको मुचुल्कामा ९६ किलो ८२२ ग्राम सुन खपत भएको उल्लेख छ । १०८ किलो सुन खरिद भएकोमा बाँकी सुनको हिसाब नमिलेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको थियो । प्रश्न उठेपछि कोषकै असन्तुष्ट पदाधिकारीले अख्तियारमा उजुरी दिए ।