डडेल्धुरा : जिल्लाको गन्यापधुरा गाउँपालिका–४ को महाभारत वनक्षेत्रको घनाजंगलमा लाग्ने यस क्षेत्रकै प्रसिद्ध लाटागन्यापको ‘शिखरजाँत’ असोज १० गते (बुधबार) राति हुँदै छ।
डाणाकान्तिका हिसाबले गनेर लाग्ने मेला विशेष गरि प्रत्येक वर्ष भाद्र चतुर्दशीको दिन लाग्ने गर्दछ। तर, यस वर्ष भने ‘मालामास’ का कारण असोजमा लाग्दैछ। राती लाग्ने धार्मिक शिखर मेलाको आफ्नै महत्व र गौरव छ।
शिखरको गात ‘ठूलो ढुंगा’ सम्म पुग्नुभन्दा अगाडि विभिन्न ठाउँ–ठाउँमा दूध ढाल्नेमा दूध, अगरबत्ती तथा फूलपाती चढाएर पूजाआजा गरेर जाने विशेष परम्परा रहेको छ। शिखर पुग्नु अगाडि गणेपानी ‘खोलामा’ हात खुट्टा धोएर जाने गरिन्छ भने बिहान हिँडेका दर्शनार्थी साँझ ७/८ बजे तिर गात शिखरमा पुग्छन्।
शिखरमा ६ गाउँबाट देउरो जाने गर्दछन्। गन्यापधुरा गाउँपालिकास्थित मालिगाउँ, रुमायल, जैसेरा र रेल यस्तै डोटीको शिखर नगरपालिकाको थप्सा र बानी डुग्रेसैनबाट संयुक्त रुपमा देउरो जाने परम्परा रहेको छ।
देउरो जाने क्रममा पनि विभिन्न ठाउँहरूमा दाइन, दमाहा तथा भोक्करहरू बजाएर जाने गरिन्छ। दमाहा पनि लाटागन्याप देवताबाट विशेषा अधिकार प्राप्त दमाइ जातिका व्यक्तिहरूले मात्रै बजाउने गरेका गन्यापका धामी जयराज भट्टले जानकारी दिए।
मेला भर्नको लागि जाने दर्शनार्थीले साता अगाडिदेखि नै शुद्ध खानेकुरा खाने गर्दछन्। यसरी चोखो खाना खाएर उपासना गरि मेलामा सहभागी भइ चोखो मनले मागेको वरदान पूरा हुने धार्मिक विश्वास रही आएको छ।
मेला भर्नको लागि डडेल्धुरा, डोटी लगायत सुदूरपश्चिम तथा देशका विभिन्न ठाउँहरूबाट भक्तजनहरू आउने गरेको गन्यापका दोरिया हरिलाल भट्टले बताए। जाँतमा गाइने देउडा, फाग, चैत, धुमारी पनि लाटागन्यापको गाथामा आधारित हुने गरेका उनको भनाइ छ।
गन्याप मन्दिरको किंवदन्ती
पहिलेदेखि नै यो क्षेत्र कान्छो खप्तड भनरे चिनिन्छ। गन्याप मन्दिरको निर्माण कहिले भएको हो भन्ने प्रमाण छैन। तर, किंवदन्ती अनुसार गन्यापधुरा गाउँपालिका–४ रमाइलमा भगवान् गणेशको जन्म भएको र पछि गणेश ठूलो भएर त्यस क्षेत्रबाट गणेश भगवान् सर्पको भेषमा हाल गन्याप मन्दिर भएको ठाउँमा गएको र त्यही आएर विलिन भएको बताइन्छ।
पछि गन्यापधुरा गाउँपालिकाको रेल भन्ने गाउँका १ जना पार्कीले निगालो काट्न जाँदा त्यहाँ रहेको ढुङगोले हसिँयामा आरन लगाउँदा ढुङगोबाट लगातार रगत बगेको र त्यही भगवान् उत्पत्ति भएको किंवदन्ती रहेको छ।
ढुङ्गोबाट लगातार रगत बगेपछि ती पार्की गाउँमा गएर आफन्तलाई बोलाएका थिए । त्यहाँ गएर १ जना स्थानीयले त्यस ढुङ्गोमा फूल चढाएको र ती पार्कीले आफूले लगाएको टोपीले ढुङ्गोबाट बगिरहेको रगत रोकेका थिए। रेल र रमाइल गाउँका सबै भेला भएर त्यो ठाउँमा त्यस दिनदेखि पूजापाठ सुरु गरेका थिए।
डडेल्धुरा मात्रै नभएर डोटीाको घण्टेश्वरदेखि लोखाडी गाडसम्मका बासिन्दाले समेत आराध्य देवताका रुपमा पूजाअर्चना गर्ने गन्याप मन्दिर महाभारत पर्वत श्रृंखलाको अति रमणीय स्थलमा रहेको छ।
गन्यापको पूजा गर्नका लागि रेलका पुजारी, रमाइला र मालीगाउँबाट धामी अहिले पनि पूजापाठका लागि आउने गरेकाको गन्यापधुरा गाउँपालिका–४ रेलका स्थानीय विष्णुराज ओझाले जानकारी दिए।
यो परम्परा अहिले नभएर परम्परागत रुपदेखि नै चलिरहेको उनको भनाइ छ। पुजारी ओझाका अनुसार यो मन्दिरमा पूजापाठ गर्न त्यहाँका देउवा र बाह्विसी बलायरहरुको आफ्नै महत्व छ।
दर्शन गरे मनोकामना पूर्ण हुने
गन्याप मन्दिरको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रहेको छ। कसैको छोरा नभएमा त्यहाँ गएर पूजापाठ गरे छोरा प्रदान हुने जनविश्वास छ। अहिले पनि छोरा नभएकोले त्यहाँ गएर भगवानसँग छोरा माग्ने गरेको स्थानीय बताउँछन्।
बानणुग्री सैनका कुनै पनि बलायरको छोरा थिएनन् त्यहाँ गएर पूजापाठ गर्दा छोरा भएको इतिहास अहिले पनि छ। अहिले पनि ‘क्यारु पुसाई अपुती रैगई कोल’ भन्ने टुक्का त्यस क्षेत्रका स्थानीयले खेल खेल्ने बेला पनि गाउने गरेका छन्।
गन्याप मन्दिरको दर्शन गरे मनोकामना पूरा भएपछि अहिले पनि पूजापाठ गर्न दैनिक थुप्रै व्यक्ति हिँडेर त्यहाँ पुग्ने गरेको स्थानीय बताउँछन् ।
मेला भर्न भारतदेखि दर्शनार्थी
यहाँ मेला भर्न डोटी, डडेल्धुरा, बैतडी, अछाम, बझाङलगायत सुदूरपहाडका विभिन्न जिल्ला तथा भारतबाट समेत हजारौँ दर्शनार्थी मेला भर्न आउने गरेका छन्।
रुमायलबाट मूल देउरो मन्दिरमा आउँछ र देउरो आएपछि यहाँ पूजापाठ हुने गर्दछ। पूजा सकिएको दास्रो दिन फेरी देउरो आ–आफ्नो भ्राण (भण्डार)मा फिर्ता हुने स्थानीय लोकेन्द्र पनेरुले बताए। उनका अनुसार यहाँ बाह्विसी र छविसीको फरकफरक पूजापाठ लाग्ने गर्दछ।
भाट–भटेनीको विशेष महत्व
‘भाट भटेनीको छोडेछ नाउँ
चल गोसाईं गणपति शिखर जाउँ’
पौराणिक मान्यता अनुसार रुमाइलगाउँका आदि पुरुष फुल भाटले पत्नीसहित द्यौझालको घना जंगलमा गएर तपस्या गर्दा ईश्वर खुशी भएर पहेलो सर्पको रुपमा प्रकट भएको विश्वास छ। अनि फुल भाटकी श्रीमतिले सर्पलाई कहाँ राख्ने भनि विचार गर्दा धान राख्ने भकारी उपयुक्त हुने ठानी त्यहिँ राखि दिएका थिए।
त्यसपछि फुलभाटको घरमा अन्नको कमी कहिल्यै नभएको मानिन्छ। फुल भाटकी श्रीमती निष्ठावान भएकीले एकदिन एकजना गाउँले के नै गर्ने रहेछन् भनी जाँच्नका लागि फुल भाटको लौरो चोरेर लगि फुल भाटकी श्रीमतीलाई फुलभाटले खाना नकुर्नु भनी खबर पठाएको र प्रमाणका रुपमा लौरो ल्याएको भनी लौरो देखाएछ।
फुल भाटकी श्रीमतिले विश्वास गरेर खान सुरु गर्दा पति घर पुगेछन्। अनि हतार–हतार थाली कता लुकाउने भनि खोज्दा त्यही धानको भकारीमा हाल्न पुगिन्। त्यसपछि देवताले अपमान भएको भनी ठानी त्यहाँबाट बाहिरिएर गएको किंवदन्ती रहेको स्थानीय बताउँछन्।
फेरि दुबै पतिपत्नी पछिपछि माफी माग्दै हिँडेछन्। अनि देवता शिखरको शिलामा पुगी बिलीन भएछन्। त्यहीं भाट दम्पतीले पनि मुक्ति पाएको किंवदन्ती छ। शिखरको गात ‘ठूलो ढुंगामा’ अझै पनि नाग देवता हिँडेको छाप देख्न सकिन्छ।