काठमाडौं : पूर्वमाओवादी लडाकुहरुले सरकारले आफ्ना समस्या समाधान नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन् ।
उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतबार सिंहदरबारस्थित मन्त्रालयमा भेटेर १० वर्षे जनयुद्धका घाइते पूर्वमाओवादी लडाकुहरुले आफ्ना समस्या सरकारले सम्बोधन नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका हुन् ।
जनयुद्धका घाइतेको उच्चस्तरीय औषधोपचारको व्यवस्था गर्नुपर्ने, जीवन निर्वाह गर्न तत्काल स्रोतको व्यवस्था गर्नुपर्ने, पूर्वलडाकूको कार्यदलमा नाम नभएकाको तत्काल सूचीकृत गरेर समावेश गर्नुपर्ने माग राखेका छन् ।
पूर्वलडाकु तथा घाइतेहरुको कुरा सुनिसकेपछि उपप्रधान एवम गृहमन्त्री श्रेष्ठले लामो समयदेखि विभिन्न दलसँगको समीकरणको सरकार बनाएका कारण पूर्वलडाकु तथा घाइतेका समस्या समाधान गर्न नसकिएको स्वीकार गरे ।
आफ्नो पार्टी नेतृत्वको सरकारमा भएका बेला पूर्वलडाकु तथा घाइते र अपांगता भएका व्यक्तिको पक्षमा निर्णय गर्दा अदालतले रोक लगाएका कारण सम्बोधनमा समस्या भइरहेको उनले बताए ।
गृहमन्त्री श्रेष्ठले अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्ड विदेश भ्रमणमा रहेको र फर्किनेबित्तिकै गम्भीर रुपमा छलफल गरेर समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।