काठमाडौं : बीपी कोइराला गृहमन्त्री हुँदा २००८ सालमा स्थापित संस्थाको ७०औं वार्षिकोत्सव मनाउन छाडीछाडी कोही पदाधिकारी विदेशीको निम्तो मान्न कुद्छ भने त्यसलाई कस्तो राष्ट्रसेवक भन्ने ? यस्तो प्रश्न उठेको छ, सिंहदरबार, पुतली बगैंचास्थित गुप्तचर विभागमा ।
अघिल्लो महिना भदौ १२ गते विभागको वार्षिकोत्सव मनाउन छाडेर गुप्तचर प्रमुख हुतराज थापा अघिल्लै दिन दक्षिण कोरियातिर हान्निएका थिए । अहिले भारत जाने तयारीमा छन् । कोरिया जानुअघि उनले नेपालमा पाँच सदस्यीय उताको गुप्तचर टोलीलाई वैशाख १ गते स्वागत सत्कार गरेका थिए ।
त्यसको पैँचो खान संस्थाको वार्षिकोत्सव छाडेर त्यता लागे । कोरियाबाट नेशनल इन्टेलिजेन्स सर्भिसका एसिया प्यासिफिक चिफ किम हाओनले निम्तो पठाएको लगत्तै हुतराज त्यता हान्निए । यही साता एसपी राजु शर्मासहित नयाँ ‘र’ चिफ रवि सिंहको निम्तो मान्न दिल्ली जाने तयारीमा छन् ।
अचम्म के छ भने, नेपाली गुप्तचरले देशमा राम्रो सूचना संकलन नगर्ने, तर विदेशीलाई नेपालका सूचना साझेदारी गर्ने हतारोमा बाहिरतिर बढी रमाउने क्रम चलेको छ ।