धनगढी : सुदूरपश्चिम प्रदेशका विभिन्न मन्त्रालयको सचिव हुँ भनी ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालयको माननीय मन्त्रीको निजी सचिव, स्वकीय सचिवलगायत मन्त्रालय मातहतको कार्यालयको प्रमुख हुँ भनी ठगी गर्ने अम्मरराज सेजुवाल पक्राउ परेका हुन् ।
अनुसन्धान गर्दै जाँदा कालिकोट शुभकालिका गाउँपालिका ८ मुग्राह घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा ४ खजुरा बस्ने वर्ष २९ को सेजुवाललाई पक्राउ गरिएको कैलालीका डिएसपी कुलदीप चन्दले बताए ।
मोबाइल र विभिन्न सामाजिक संजालको प्रयोगबाट मन्त्रालय अन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारीहरु समेतबाट नगद जिन्सी रकम माग राख्ने गरेको हुँदा आम नागरिकलाई सतर्क रहन मन्त्रालयले एक विज्ञप्ति निकाल्दै अनुरोध समेत गरेको थियो ।
सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको भदौ २७ गते प्रकाशित विज्ञप्ति सूचना अनुसार फोन नम्वर ९८५११७३३१८ प्रयोगकर्ता उपर अनुसन्धान गर्दै जाँदा उनलाई पक्राउ गरिएको हो ।
उनीबाट पीडित जानकी गाउँपालिका- ५ अमौरा स्थित रहेको आधारभूत स्वास्थ्य केन्द्र अमौरामा कृष्ण प्रसाद चौधरी समेतबाट जाहेरी दरखास्त लिई ठगी कसुरमा कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान कार्य जारी रहेको छ ।
सेजुवालले अन्य व्यक्तिहरूलाई समेत ठगी गरेको हुन सक्ने भएको हुँदा आफूसँग भएको आधार प्रमाण सहित जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिन कैलालीका डिएसपी कुलदीप चन्दले बताए ।