काठमाडौं: अकुत सम्पत्ति आर्जनमा पूर्वमन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर भएका छन् । विशेष अदालतले सोमबार श्रेष्ठलाई दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठकी श्रीमती र छोरासमेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।
श्रेष्ठ पूर्वसचिवसमेत हुन् । उनी खिलराज रेग्मी नेतृत्वको सरकारमा पर्यटन, शान्ति तथा खेलकुदमन्त्री बनेका थिए । २०२६ सालमा शिक्षकबाट सरकारी सेवा थालेका उनी २०३६ सालमा शाखा अधिकृत नियुक्त भएका थिए । उनले २०६४ सालमा सचिवबाट अवकाश पाएका हुन् ।
अख्तियारले श्रेष्ठविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ ९८ पैसा बिगो दावी गरेको थियो । यमुना भट्टराई र खुसीप्रसाद थारुको इजलासले श्रेष्ठलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो ।
पूर्वसचिव श्रेष्ठ तत्कालीन माओवादीको कोटाबाट खिलराम रेग्मी नेतृत्वको चुनावी सरकारमा २०६९ चैतदेखि २०७० माघसम्म मन्त्री भएका थिए ।
उनी गोरखाको आरुघाटमा प्रचण्डसँगै शिक्षक रहेको कारण माओवादीसँग निकट भएर मन्त्री बन्न सफल भएका थिए ।