धनगढी : कैलालीको धनगढीस्थित माया मेट्रो हस्पिटलका विशेषज्ञ चिकित्सकले केही झुट्टा प्रचार गरेको पाईएको छ ।
अस्पतालले हुँदै नभएको झूटा उपाधि लेखेर डर्माटोलोजिष्ट डा. प्रियंका मैनालीलाई अस्पतालले कस्मेटोलोजिष्ट समेत भनेर प्रचार गरी सेवाग्राहीलाई झुक्याउने गरेको पाईएको हो ।
अस्पतालले डा. मैनालीको प्रचारप्रसारका क्रममा ‘कपाल र सौन्दर्य विशेषज्ञ’ समेत लेखेको पाइएको छ । तर उनी वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ हुन् । नेपाल मेडिकल काउन्सिलको रेकर्डमा पनि उनी डर्माटोलोजिष्ट मात्रै छिन् । अस्पतालले नभएको उपाधि प्रचार गर्ने गरेको डा। मैनालीले समेत स्वीकारिन् ।
उनले भनिन्, ‘अस्पतालले विज्ञापनमा त्यस्तो लेख्ने गरेको रहेछ । छालाको सबै प¥यो नि ! त्यही भएर लेखेको हो । अब हामीले त्यो चेन्ज ग¥यौं ।’ आजैदेखि त्यो उपाधि ‘चेन्ज’ गर्ने उनले बताइन् ।
नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ (संशोधनसहित) को परिच्छेद २ मा चिकित्सकहरूको नाम र विशेषज्ञता रजिष्टरमा दर्ता गर्ने सम्बन्धी व्यवस्था छ । नियम ३.(३)(क) मा जुन डिग्री डिप्लोमाको आधारमा दर्ता गराउन चाहेको हो, त्यसको सक्कलै प्रमाणपत्र दाखिला गर्नुपर्ने व्यवस्था छ ।
नियमावलीको नियम २२. चिकित्सकको आचारसंहिताको (२)(ख) मा पाएको डिग्री, डिप्लोमा र पदबाहेक अरु कुनै कुरा नलेख्ने उल्लेख छ । नियम २२ को उपनियम २(ख) मा लेखिएको छ, ‘आफ्नो नाम चलाउने अथवा धन कमाउने उद्देश्यले कुनै परिचय पाटी वा प्याडमा आफ्नो नाम, पाएको डिग्री डिप्लोमा र कुनै पद पाएको छ भने त्योबाहेक अरु कुनै कुरा लेख्ने ।’
नेपाल मेडिकल काउन्सिलको मिति २०७९ साउन ९ गतेको बैठकको निर्णयमा पनि भनिएको छ, ‘दर्तावाल चिकित्सकले आफूले नेपाल मेडिकल काउन्सिलमा दर्ता रहेका बाहेकका उपाधि प्रयोग गर्न गराउन हुँदैन, सामाजिक सञ्जालमा कुनै पेशागत विवरण राख्नुपर्ने भए काउन्सिल दर्ता प्रमाणपत्रमा उल्लेखित उपाधि मात्र लेख्न पाइनेछ ।’ काउन्सिलको २०७९ कात्तिक २२ गतेको बैठकको निर्णयमा ‘१) काउन्सिलबाट प्रदान नगरिएको उपाधि प्रयोग गरेमा, २) भ्रामक प्रचारप्रसार तथा प्रसारण गरेमा’ खराब आचरण गरेको मानिने उल्लेख छ ।
काउन्सिलले अध्ययन गरेको विश्वविद्यालय, अध्ययन गरेको कार्यक्रम र प्रमाणपत्र हेरेर उपाधि यकिन गरी दर्ता प्रमाणपत्रमा उल्लेख गर्ने गरेको छ । योग्यता र विशेषज्ञता लेख्ने सम्बन्धमा नेपाल मेडिकल काउन्सिल आचारसंहिता तथा व्यावसायिक आचरण २०१७ मा थप व्यवस्था गरिएको छ ।
नेपाल मेडिकल काउन्सिलका रजिस्टार डा. कृष्णप्रसाद अधिकारीले चिकित्सकले काउन्सिलमा दर्ता भएकोबाहेक उपाधि लेख्न र प्रचार गर्न नपाइने जानकारी दिए ।