धनगढी: सुदूरपश्चिम प्रदेशमा मुलकी अपराध संहिताविपरीत बहुविवाह गर्नेको संख्या प्रशस्तै रहेको पाइएको छ। पछिल्ला केही आर्थिक वर्षको तथ्यांकमात्रै हेर्ने हो भनेपनी मुलुकी अपराध संहिताविपरीत बहुविवाह गर्नेको संख्या प्रशस्तै रहेको पाइएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरीका एसएसपी प्रज्वल महर्जनले अहिले भने प्रदेशमा बहुविवाहका मुद्दा दर्ता घट्दो क्रममा रहेको जानकारी दिए। उनका अनुसार प्रदेशभर आर्थिक वर्ष २०७७/०७८ मा ११० वटा, २०७८/०७९ मा ८१ वटा, २०७९/०८० मा ८० वटा र अहिलेको चालू आर्थिक वर्षको २ महिनाको अवधिमा मात्रै ११ वटा बहुविवाहका मुद्दा प्रहरीमा दर्ता भएका छन्।
जसमध्ये सुदूरपश्चिमका ९ जिल्लामा कैलाली र कञ्चनपुरमा बहुविवाह बढ्दो छ। कैलालीमा सबैभन्दा बढी बहुविवाह गर्नेहरु भेटिएकोमा कञ्चनपुर दोस्रो अवस्थामा रहेको एसएसपी महर्जनले महेन्द्रनगरपोष्टलाई बताए।
यस्ता अधिकांश घटनाहरु भने गाउँघरमा सहमतिमै दबिएकोसमेत पाइन्छ। यानिकी प्रहरी एवं अदालतसम्म नपुगेका बहुविवाहका केसहरु पनि थुप्रै छन्, जो तथ्यांकमा भेटिदैनन्।
मुलुकी ऐनमा बहुविवाह गर्ने कार्यलाई फौजदारी अपराध मान्दै न्युनतम एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय गर्ने व्यवस्था छ। जसमा यस्तो कार्य गर्नेलाई अधिकतम पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ।
यस्तै बहुविवाह गरेमा वा गराउने कार्य गर्ने व्यक्तिलाई समेत पाँच वर्षसम्म कैद हुने र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। यस्तो व्यवस्था हुँदाहुँदै पनि बहुविवाह खासै कम हुन सकेको देखिदैन। विशेषगरी समाजमा उच्च कहलिएकै नेता, व्यापारी र सेलिब्रिटीहरुले बहुविवाह गर्ने गरेको पाइन्छ।
मुलुकी देवानी संहिताको दफा ६७ ले कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पतिपत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मान्दछ। विवाह पुरुष र महिलाबीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नका लागि कायम भएको एक स्थायी तथा स्वतन्त्र सहमतिमा आधारित पवित्र सामाजिक र कानुनी बन्धनको रुपमा समेत परिभाषित गरिएको छ।
तर सुदूरपश्चिममा भने घरमा श्रीमती हुँदाहुँदै फेरी अर्की विवाह गरेर ल्याउने पुरुषको संख्या अधिक देखिएको छ।