प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको हुम्लाको हिल्सा हुँदै हिन्दुहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर भ्रमणलाई सहज बनाउन नेपालतर्फको सडकलगायत अन्य भौतिक पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान दिने बताएका छन्।
चीनको औपचारिक भ्रमणका क्रममा बिहीबार कैलाश पर्वत र मानसरोवर क्षेत्रको स्थलगत अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्। उनले हुम्लातर्फको सडक राम्रो भए बर्सेनि लाखौँ भारतीय पर्यटक नेपाल आउन सक्ने सम्भावना रहेको धारणा राखे।
प्रम प्रचण्डले नेपाली, भारतीय र अन्य देशका पर्यटकले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्धान्तिक सहमति भइसकेको जानकारी समेत दिए।
हिन्दु धर्मग्रन्थहरूमा उल्लेख भए अनुसार देवताका पनि देवता, महादेवको बासस्थल यही कैलाश पर्वत हो। महादेवको बासस्थल भएकाले कैलाश पर्वत र यस क्षेत्रलाई हिन्दु धर्मावलम्बीले पवित्र तीर्थस्थलका रूपमा लिने गरेका छन्।