काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने दाबी गरेका छन्।
आज (सोमबार) पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘निर्वाचनमा सबै दलहरु होमिसकेको अवस्था छ। निर्वाचन सर्दैन, वैशाख ३० गते नै हुन्छ। गठबन्धन निर्वाचनको अन्तिम तयारीमा पुगेको छ। निर्वाचन सर्दैन। सरकार र सरकारमा भएका पार्टीको निर्वाचन सार्ने मनसाय छैन। गठबन्धन निर्वाचनमा होमिसकेको छ।’
उनले आज बेलुकासम्ममा ६ वटा महानगर र ११ वटा उपमहानगरको भागबण्डा टुंग्याउने दाबी गरे। ‘गठबन्धनको तालमेलबारे आजै निर्णय पुग्छौँ। नगरपालिका र गाउँपालिकाको पनि तल अधिकार दिएका छौँ। तल्लो तहको रिपोर्टको आधारमा भोलिसम्म टुंग्याउछौँ।’ प्रचण्डले भने, अहिले म गठबन्धनको बैठकबाट सोझै आएको छु, पत्रकार सम्मेलन सकेपछि फेरि बैठकमा जान्छु । हामी आजै टुंग्याउन घनिभूत छलफल गरिरहेका छौं।