काठमाडौँ : नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाख:ले जनाएको छ ।
नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन निकालेर हाल बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय प्रभावले मनसुन बहिर्गमन ढिलो हुने प्रक्षेपण गरेको हो ।
महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले मनसुन बाहिरिने मिति अक्टोबर २ भए पनि वर्षा गराउने प्रणाली (न्यूनचापीय क्षेत्र) को विकास भएकाले अबको केही दिन बदली र वर्षाको सम्भावना रहेको बताए ।
मौसमविद् अधिकारीका अनुसार अहिले देशको पूर्वी क्षेत्रबाट न्यूनचापीय क्षेत्रको विकास भइरहेकाले अबको दुई/चार दिन देशका कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यो वर्ष दसैँ ढिलो भएकाले पनि किसानले बाली भित्र्याउने तरखरमा छन् । यो बेला मनसुनको प्रभाव बढी कृषि र यातायात क्षेत्रमा पर्नसक्ने भएकाले सम्बन्धित निकायलाई सतर्कता गराउन अनुरोध गरिएको महाशाखाले जनाएको छ ।