धनगढी: अछामका २ वटा पालिकामा एक लेखा अधिकृतले कब्जा जमाएको आरोप लागेको छ। लेखा अधिकृत नारदप्रसाद खनाललाई दुई पालिका कब्जा गरेको आरोप लागेको हो।
जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाका लेखा प्रमुख खनाललाई अर्को पालिकाको पनि जिम्मेवारी दिलाइएपछि उनलाई कब्जाको आरोप लागेको हो। काँग्रेस निकट कर्मचारी खनालले राजनैनिक सेटिङमा दोहोरो जिम्मेवारी हत्याएको कर्मचारीहरुकै आरोप छ। खनालले अहिले बान्नीगढी र
रामारोशन गाउँपालिकाको लेखा प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्। भदौ २९ गतेबाट खनालले रामारोशनको जिम्मेवारी पाएका हुन्। यसअघि रामारोशनमा लेखापाल विवेक तिमिल्सिनाले लेखाको काम गर्दै आएका थिए। अहिले तिमिल्सिना खनाल मातहत रहेर काम हेर्दै आएका छन्।
खनाल कार्यरत दुबै पालिकामा काँग्रेस नेतृत्वकै सरकार रहेको छ। सोही कारण खनालले दोहोरो जिम्मेवारी हत्याउन सफल भएको बताइन्छ।
यता खनाललाई रामारोशनको पनि जिम्मेवारी दिने निकाय कोष तथा लेखा नियन्त्रक अछामले भने सेटिङ नभएर पालिकाका अधिकृत र अध्यक्षकै आग्रहमा जिम्मेवारी दिइएको जनाएको छ। कोलेनिकाका प्रमुख नरेश भट्टले खनाललाई अर्को लेखा अधिकृत नआएसम्मका काजमा दोहोरो जिम्मेवारी प्रदान गरिएको जानकारी दिए।
उनका अनुसार खनालले दोहोरो जिम्मेवारी लिन तयार भएपछि २ पालिकाको जिम्मेवारी दिइएको हो। खनाललाई दोहोरो जिम्मेवारी दिइरहदा उता चौरपाटी गाउँपालिकामा भने लेखा अधिकृत नै नभएको गुनासो सुनिएको छ। त्यहाँ कार्यरत लेखा अधिकृत सरुवा भएपछि चौरपाटीमा नयाँ लेखा अधिकृत नै नआएको बुझिएको हो।
राजनीतिक दबाबमा काम गर्न समस्या हुने भन्दै त्यहाँ लेखा अधिकृतहरुले जानै नमान्ने प्रवृत्ति छ। सोही कारण त्यहाँ अहिले पनि लेखाको पद रित्तै छ। कोलेनिका अछामले भने त्यहाँको लेखा व्यवस्थापनका लागि जनप्रतिनिधिले नै चासो नदेखाएको जनाएको छ।