दार्चुला– दार्चुलामा दुई पत्रकार स्थानीय तहको नेतृत्वमा आउनका लागि दौडधुपमा लागेका छन् । जिल्लाका अग्रज पत्रकार हिरासिंह धामी मालिकाजुन गाउँपालिका अध्यक्षको दौडमा लाग्नुभएको छ भने सन्तोष कोट्टारी मार्माको वडाध्यक्षको दौडमा।
पत्रकार धामी मालिकार्जुन गाउँपालिका अध्यक्षको लागि सिफारिससमेत भइसक्नु भएको छ । उहाँसँगै एमाले प्रदेश कमिटी सदस्य मोहनसिह धामी, गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थी पनि अध्यक्षको दौडमा छन् । धामी पत्रकार महासंघ दार्चुलाका संस्थापक शाखा उपसंयोजकसमेत हुन् ।
यसैगरि मार्मा गाउँपालिका–६ का घर भएका पत्रकार सन्तोष कोट्टारी पनि वडाध्यक्ष पदका लागि सिफारिस हुनुभएको छ । उनी नेकपा एमालेबाट वडा नम्बर ६ को वडाध्यक्षको लागि सर्वसम्मत उम्मेदवार सिफारिस हुनुभएको हो ।
प्रेस चौतारी नेपालका प्रदेश कमिटी सदस्य तथा नेपाल पत्रकार महासंघ दार्चुला शाखा उपाध्यक्ष समेत रहनुभएका कोट्टारी जिल्लास्थित सामुदायिक रेडियो नयाँ नेपाल एफएममा समाचार प्रमुख हुनुहुन्थ्यो ।
नेकपा एमालेले पाँच स्थानीय तहमा नेतृत्व चयन गरे पनि चार वटा स्थानीय तहमा अझै रस्साकस्सी चलेको छ । स्थानीय तहमा सर्वसम्म नेतृत्व चयन गर्न नसक्दा एमालेभित्र समस्या बढ्दै गएको छ । नेकपा एमालेले पहिलो चरणमा नौगाड, दुहुँ, अपिहिमाल, शैल्यशिखर र लेकम गाउँपालिकामा नेतृत्व चयन गरेको छ ।
नेकपा एमाले प्रचारप्रसार विभाग दार्चुलाका अनुसार नौगाडमा अध्यक्षमा प्रेमसिह धामी र उपाध्यक्ष गौरी ठगुन्ना सर्वसम्मत भएका हुन् । यी दुवै जना अहिले पनि निर्वाचित अध्यक्ष उपाध्यक्ष हुन् ।
एमाले जिल्ला कमिटी अध्यक्ष समेत रहनुभएका धामीको पालिकाभरी सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ ।
यस्तै दुहुँ गाउँपालिकामा अध्यक्षमा नरेन्द्रसिह बडाल र उपाध्यक्षमा ताराकेशरी कुँवर सर्वसम्मत चयन भएका छन् ।
अपि हिमाल गाउँपालिकामा अध्यक्ष धर्मानन्द मन्याल र उपाध्यक्षमा उर्मीला बोहरा सर्वसम्मत चयन हुनुभएको छ । अहिले पनि दुवै जना अध्यक्ष उपाध्यक्ष हुन् । लेकम गाउँपालिकामा अध्यक्षमा प्रमानन्द जोशी पुन उम्मेदवार सर्वसम्मत दोहोरिएका छन् ।
लेकम गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार माधवी जोशीलाई नै दिइएको छ । यता शैल्यशिखर नगरपालिकामा नगर प्रमुख विजयसिह धामी सर्वसम्मत चयनु हुनुभएको छ भने उपमेयरमा शान्ती खडायतलाई उमेदवारी दिइएको छ ।
मार्मा गाउँपालिकामा अध्यक्षमा देवसिह महर अध्यक्षमा सर्वसम्मत हुने सम्भावना बढेको भए पनि उपाध्यक्षमा टुंगो लागेको छैन् । उपाध्यक्षको उम्मेदवार नटुंगिएका कारण त्यहाँ पनि उम्मेदवार घोषणा हुन सकेको छैन् ।
महाकाली नगरपालिकामा नगर प्रमुखको विषयमा सहमति हुन नसक्दा प्रदेश कमिटीमा नाम सिफारिसको लागि नगर कमिटीमा मतदान नै भएको छ ।
महाकाली नगरमा नगर प्रमुखको लागि महाकाली इन्चार्ज एवं पार्टी सचिव शेरसिह धामी र महाकाली नगर कमिटी अध्यक्ष नरसिह चैसिर बीच प्रतिस्पर्धा छ । दुवै जनाले एक अर्कालाई स्वीकार गर्न नसक्दा नगर कमिटीले मतदान गरेको हो ।