काठमाडौं : दसैंमा नेपाल फर्किनेहरूले विमानस्थलमा भेटेका व्यक्तिको आग्रहका आधारमा मोबाइल, ल्यापटप, सुनलगायतका सामग्री सँगै ल्याएको खण्डमा जफत गरिने भएको छ। श्रम स्वीकृति लिएर विदेशमा काम गरेर नेपाल फर्किनेहरूका लागि मात्र छुट दिएको कानुनी प्रावधान दुरुपयोग गर्ने प्रवृत्ति बढेकाले त्यसलाई निरुत्साहित पार्न कडाइ गर्न लागेको भन्सार विभागले जनाएको छ।
यात्रुहरूले कानुनी व्यवस्थाविपरीत सामान ल्याएमा माल वस्तु जफत गरिने र सोको दोब्बर मूल्यबराबर जरिमाना तथा कैद सजायसमेत हुने जनाएको छ। व्यक्तिगत प्रयोगका सामानबाहेक अन्य व्यक्तिको सामान र कानुनले प्रतिबन्ध गरेका मालसामान ल्याएमा कानुनअनुसार कारबाही गर्ने चेतावनी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गरेको हो।
भन्सार विभागले कानुनले छुट दिएका व्यक्तिगत प्रयोगका सामानबाहेक अन्य व्यक्तिको सामान र नेपालको कानुनले प्रतिबन्ध गरेका मालसामान नल्याउनु पनि अनुरोध गरेको छ। -राजधानी दैनिक