कैलाली– कैलालीको धनगढीमा सोमबारदेखि मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु भएको हो । सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको प्रतियोगिता देशकै सर्वाधिक धनराशीको प्रतियोगिता हो ।
पहिलो दिन भएका खेलमा जित हात पार्दै विभागीय टोली नेपाल आर्मी क्लब र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले पहिलो दिनका दुबै खेलमा जित हात पार्दै अन्तिम चारमा स्थान बनाएका हुन् । दुबै टोली बीचको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ ।
सोमबार भएको पहिलो खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ९१–३२ ले हरायो भने पाँचौ खेलमा कर्णाली प्रदेशलाई ६९–९ ले किनारा लगायो । तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ६६–२७ ले हराउँदा छैठौं खेलमा गण्डकी प्रदेशलाई ५६–१८ ले हरायो । सोमबार नै भएका खेलमा नेपाल एफएफ क्लब मधेस प्रदेश पनि विजयी भएका छन् । नेपाल एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई ५३–२२ ले हरायो भने मधेश प्रदेशले बागमती प्रदेशलाई ३६–२९ ले किनारा लगायो ।
प्रतियोगितामा मंगलबार पनि लिग चरणका खेलहरु हुनेछन् । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भइरहेको छ । प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार उपविजेताले नगद ८० हजार र सेमिफाईनल पुगेका दुई टोली नगद ४० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ ।
यसअघि सोमबार नै प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकवहादुर रैकाले उद्घाटन गरेका थिए ।