काठमाडौं : नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) बेलबहादुर पाण्डेलाई कारबाही सिफारिस भएको छ । शंकास्पद रकम लेनदेनबारे परेको उजुरी उपर भएको छानबिनमा कारबाही सिफारिस भएको हो ।
डिआइजी सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समितिले केही दिनअघि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा उनको केही आर्थिक कारोबार शंकास्पद देखिएको र त्यसको बैधानिकता पुष्टि गर्न नसकेको भन्दै विभागीय कारबाहीका लागि सिफारिस भएको स्रोत बताउँछ ।
वीरगञ्जका व्यवसायी राज साहसँग टेलिफोनमा लेनदेन बारे गरेको कुराकानीको अडियो बाहिरिएपछि पाण्डेमाथि छानबिन भएको थियो । उजुरी दिनेले हुन्डी कारोबारीलाई जोगाएर लाभ लिएको दाबी गरेका थिए । तर, हुन्डी कारोबारीलाई जोगाएको पुष्टि हुन नसकेको बरु शंकास्पद लेनदेन गरेको हुनसक्ने भन्दै सामान्य प्रकृतिको विभागीय कारबाहीका लागि सिफारिस भएको प्रहरी स्रोत बताउँछ ।
एसएसपी पाण्डे हाल प्रहरी एकेडेमीमा कार्यरत छन् । पर्सा प्रहरीको प्रमुख हुँदाको बखतको लेनदेनका अडियो बाहिर आएकाे थियो ।