डडेल्धुरा : निर्माण व्यवसायी तथा नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले विकासे योजना अलपत्र छोडेको भन्दै डोटीमा संघर्षका कार्यक्रम गरिने भएका छन्।
डोटीको जोरायल गाउँपालिका बासीले कटपत्ते बस दुर्घटनाको नवाैं स्मृति तथा श्रद्धाञ्जली दिँदै व्यवसायी साउद बिरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेका हुन्।
साउद परशुराम नगरपालिकाका पूर्व मेयर समेत हुन्। बुडर जोरायल सडक खण्डको स्तरोन्नति नभएर ठूलो मानवीय क्षति भइरहँदा समेत ठेकेदार कम्पनीले काम नगरेकोले संघर्षका कार्यक्रम घोषणा गरिएको हो।
बुडर- जोरायल सडक खण्डको स्तरोन्नती र कालोपत्रेको ठेक्का भइ राजेन्द्र निर्माण सेवा कम्पनीले सम्झौता अनुसारको समय भित्र कार्य नगरी अलपत्र पारेको कार्यक्रमका संयोजक तथा जोरायल गाउँपालिका-३ का वडाअध्यक्ष नवीन ओझाले जानकारी दिए।
ओझाका अनुसार कटपत्तेको जस्तै क्षती जोरायल वासिले व्यहोर्नु पर्ने अवस्था सृजना भएको साथै उक्त कम्पनीले जोरायल गाउँपालिका-३ चनकट्टेमा रहेको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रको १५ सैयाको अस्पताल भवन निर्माणको ठेक्का लिई सो कार्य पनि निर्धारित समय भित्र ५% मात्र काम गरी अलपत्र पारेको छ।
पटक पटक विभिन्न माध्यम र तरिकाबाट समयमै काम सम्पन्न गर्न आग्रह गर्दा आलटाल गरी उक्त कम्पनीका ठेकेदार साउद सम्पर्क विहीन भइ ठेक्काका काम अलपत्र पारेको संघर्ष समितका सहसंयोजक केशव नारायण जोशीले जानकारी दिए।
आम जोरायलवासी सम्पूर्णले सडक र स्वास्थ्य सेवा लिन अतिनै कठिनाई भोग्न परेकाे उनको भनाइछ।
संघर्षका कार्यक्रममा हिजो २० गते देखि २५ गतेसम्म हस्ताक्षर संकलन गरिने छ भने संकलित हस्ताक्षर सहितको १५ दिने कार्य सुरुको समयावधी सहितको ज्ञापन पत्र जोरायल गाउँपालिका मार्फत सम्बन्धित निर्माण कम्पनी र नियमनकारी निकायलाई बुझाइने जोशीले जानकारी दिए।
कात्तिक १३ गतेदेखि ठेकेदार साउदको विस्तृत विवरण फोटोसहितको पोष्टर पम्प्लेट तयार गरी सामाजिक सञ्जालमा पोष्ट गर्ने र सार्वजनिक स्थल तथा यातायातका साधनामा टाँस्ने कार्यक्रम संघर्ष समितिको छ।
यस्तै कात्तिक २० गतेदेखि भिमदत्त राजमार्गको बुडर सडक खण्ड अनिश्चितकालिन बन्द गर्ने कार्यक्रम छ।