काठमाडौं : इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणको पछिल्लो अवस्थाबारे सिंहदरबारस्थित गृह मन्त्रालयमा छलफल भएको छ ।
आज बिहान ७ बजेदेखि झण्डै एक घण्टा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा यसवारे बैठक बसेको छ ।
बैठकमा गृहसचिव दिनेश भट्टराई,काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु,सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई,उपत्यका प्रहरी प्रमुख दिपक थापालगायत सहभागी थिए ।
हिजो बिहानदेखि इजरायलमा भएको हमास आक्रमण र त्यसमा नेपाली विद्यार्थीहरु परेको विषयमा छलफल भएको थियो । चार जना विद्यार्थी हराइरहेको,दुई जनाको अवस्था निकै जटिल रहेको र तीन जना सकुशल रहेकोबारे बैठकमा रिपोर्टिङ भएको बुझिएको छ ।
११ महिने तालिममा गत भदौ तेस्रो साता इजरायल गएका ५० जना विद्यार्थीमध्ये १७ जना भिषण आक्रमण भएको क्षेत्रमा छन् । हिजो एउटा कृषि फार्ममा नौ जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको समाचार बाहिर आएको थियो । ती सबै सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल पुगेका हुन् । बैठकले परराष्ट्र मन्त्रालयले तेल अभिभस्थित नेपाली दूतावाससँग सम्पर्क र समन्वय गरेर उद्धार तथा अन्य मानवीय सहयोगको निम्ति आवश्यक समन्वय गर्ने निर्णय गरेको बताइएको छ ।
यसैबीच हमासले इजरायलका एक जना जर्नेललाई कब्जामा लिइएको दावी गरेको छ । निमरोड एलोनी हमासको कब्जामा रहेको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । पछिल्लो चौबिस घण्टामा सयौं सर्वसाधारणको ज्यान गइसकेको छ । राजमार्गमा गुडिरहेका सवारी साधनमा हमासले चलाएको अन्धाधुन्द गोलीबाट धेरै इजरायलीको निधन भएको छ ।