काठमाडौं : इजरायलमाथि हमासको आक्रमणपछि १२ नेपाली विद्यार्थी सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुने नेपाली विद्यार्थीमा लोकेन्द्र धामी, राजेश स्वर्णकार, प्रविन डिसी, प्रवेश भण्डारी, पदम थापा, साजन फुलारा, आशीष चौधरी, गणेशकुमार नेपाली, नारायण न्यौपानेलगायत रहेको इजरायल बस्ने सुनिता गिरीले जानकारी दिइन्।
१२ जना सम्पर्कमा नरहेकाे कुरा सरकारले नै पुष्टि गरिसकेकाे छ । सुरक्षित ठाउँमा जान सफल विद्यार्थीहरूले नै बाँकी साथीहरू हराएको खबर गरेका हुन् । गम्भीर घाइते दुई जनाको अस्पतालमा उपचार भइरहेको छ ।
हमासको बम आक्रमणमा परी घाइते भएका अन्य तीन जना अस्पतालमा उपचाररत छन्, तीमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेकाे बताइएकाे छ ।
अस्पतालमा उपचाररत रहेकाहरूमा धनबहादुर चौधरी, हिमाञ्चल कट्टेल र विधान सेजुवाल छन् । उपचाररत घाइतेमध्ये धनबहादुरकाे अवस्था सामान्य छ ।
बाँकी दुई जना एक बंकरमा रहेको र उनीहरू सम्पर्कमै रहेको तेलअभिभस्थित नेपाली दूतावासले जनाएको छ ।
उनीहरू किबुज अलुमिन कृषि फार्ममा काम गर्थे, जुन हमासले शासन गरिरहेकाे गाजापट्टीकाे सीमामा पर्छ । उक्त फार्मले उपलब्ध गराएकाे आवासमा १७ जना नेपाली विद्यार्थी थिए । सेदोत नेगेभमा पढ्ने उनीहरू सबै सुदूरपश्चिम प्रदेशका भएकाे बताइएकाे छ ।
इजरायलमा नेपाली समुदायको अवस्थाबारे संसदलाई जानकारी गराउने क्रममा परराष्ट्रमन्त्री साउदले १२ जना नेपाली विद्यार्थी सम्पर्कमा नरहेको बताएका छन् ।
शनिबार बिहानदेखि हमासले इजरायलका विभिन्न ठाउँमा आकाश, जमिन र समुद्रबाट आक्रमण गरिरहेको छ । आक्रमण अहिले पनि जारी छ । किबुज क्षेत्रमा अहिले पनि इजरायली सेना पुगिसकेकाे छैन ।