धनगढी : विद्रोही समूहले इजरायलमा गरेको आक्रमणबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुख व्यक्त गरेका छन्।
आइतबार एक विज्ञप्ति निकाल्दै मुख्यमन्त्री शाहले घटनाको भत्सर्ना पनि गरेका छन्।
उनले यस किसिमका आतंककारी क्रियाकलापबाट कसैको पनि हित नहुने कुरामा सबै सचेत रहन जरूरी रहेकोमा जोड दिएका छन्।
विज्ञप्तिमा भनिएको छ- ´सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायबाट ११ महिने लर्न एण्ड लर्न कार्यक्रम अन्तरगत नेपाल स्थित इजरायली राजदूतावाससँगको सहकार्यमा इजरायलमा रहेका ४९ जना विद्यार्थीमध्ये केही विद्यार्थी सम्पर्कविहिन तथा केही विद्यार्थी घाइते र अन्य विद्यार्थीहरू समेत लुकीछिपी रहेर बसेको जानकारी प्राप्त भएको हुँदा सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाल सरकार परराष्ट्र मन्त्रालय, इजरायल सरकार र इजरायल स्थित नेपाली राजदूतावासलाई सम्पर्कविहिन तथा घाइते नेपाली विद्यार्थीहरूको शीघ्र खोज तथा उद्धार कार्य गरिदिन र सम्पूर्ण विद्यार्थीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि अनुरोध गर्दछु। साथै घाइते विद्यार्थीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।`