काठमाडौं : मनसुन बाहिरिएपछि सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पश्चिमी भूभागमा तत्काल पानी पर्ने सम्भावना छैन। अन्य भूभागमा पनि लामो झरी पर्ने र भारी वर्षा हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ।
नेपालका पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
अहिले कोशी, बागमती र गण्डकी प्रदेशको भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सफा रहेको महाशाखाले जनाएको छ।
दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।