धनगढी : इजरायल अहिले युद्धको चपेटामा छ। परराष्ट्र मन्त्रालयका अनुसार १० जना नेपालीहरुको मृत्यु भइसकेको छ। थुप्रै नेपाली इजरायलमा फसेको आशंका गरिएको छ।
इजरायल नेपाली कृषि विद्यार्थीको आकर्षणको गन्त्वय बन्दै गइरहेको थियो। तर, हमासले इजरायलमा गरेको आक्रमणमा अहिले इजरायल निकै संकटमा परेको छ।
इजरायल–प्यालेस्टाइन युद्धको चपेटामा फसेका नेपाली विद्यार्थीले उद्धारको अपिल गर्दै प्रधानमन्त्री प्रचण्डलाई पत्र लेखेका छन् । अन्नपुर्ण गाउँपालिका–२ कास्की घर भई हाल इजरायलमा फसेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिने आग्रह गरेका हुन्।
कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट सुरज इजरायल गएका थिए। उनले कृषि तथा वन विज्ञान विश्वविद्यालय बाट स्नातक सकिनै लागेका ११४ जना विद्यार्थी इजरायल र हमासको द्वन्दको चपेटामा फसेको जानकारी दिएका छन्।
उनले पत्रमा लेखेका छन्–‘११ महिनामा यस देशबाट केही सिप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किँदै गैइराखेको छ। हाम्रो आत्माबल घट्दै गैराखेको छ, हामी मानसिक तनावमा पुग्न आँटिसकेका छौं, अब धेरै सोच्ने परिस्थिति पनि बाँकी रहेन्।’
‘आकाशमा चरा उडेको देखेको हामी, आज मिसाइल र फाइटर पेलेन देख्नुपरेको छ। तिहारमा पटका खुसीका साथ रमाउँदै हेरेका हामी आज आफू अगाडि बन्दुक पड्की राखेको देखेर त्रसित छौं। बंकरमा लुक्यो भने बंकर भित्रनै छिरेर आक्रमण भैराखेको छ। हामी हाम्रा सुदुर पश्चिम विश्वविध्यालयका सहपाठी साथीको निधनले छाती चिरिएको छ। हामी स्तब्ध छांै, हमलामा पर्यो भने गोली निल्नेको अर्को विकल्प केही पनि छैन। लुकेर बसेका हामीहरु खाना र पानीको समस्यामा जुद्नु परेको छ। नखाउ भने भोक र प्यास लाग्छ, खाउ भने बाहिर सौचालय जान डर लाग्छ। आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर भइरहेको छ। विभिन्न देशको समर्थनले गर्दा युद्ध यतिकै रोकिने अवस्था पनि छैन। यो युद्ध लामो छ हामीलाई भरखरै हाम्रो देश फर्कन मन छ,’ पत्रमा लेखिएको छ।
उनले प्रधानमन्त्री प्रचण्ड मात्रै आशा, भरोसा भएकोले नेपाल फर्किने वातावरण मिलाइदिन आग्रह गर्दै पत्रमा लेखेका छन्, ‘आदरणिय प्रधानमन्त्री ज्यु, अबको हाम्रो आशा पनि तपाईंनै हो, भरोसा पनि तपाईंने हो। यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन, हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस् हामी देशमानै रमाउने छौं।’
उनले नेपालका तीन वटा विश्वविद्यालय कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी इजरायलमा फसेको जानकारी दिएका छन्।
अन्तमा उन्ले पत्रमा लेख्दै भनेका छन्–‘संसँगै यहाँ अन्य विद्यार्थी र नेपाली नागरिक हुनुहुन्छ। छिटोभन्दा छिटो नेपाल सरकार र प्रधानमन्त्रीको प्रत्याभुति तपाईंलेले अवश्य गराउनुहुनेछ, यो हाम्रो तपाईंप्रतिको विश्वास हो, यही विश्वास मा नै हाम्रो सास अडिएको छ।’