धनगढी : इजरायलमा हमासको आक्रमणमा परि १० जना नेपालीको मृत्यु भएको छ। ती मध्यै ७ जना सुदूरपश्चिमका छन्। मृतकको सूचीमा नाम समावेश छ, बझाङका गणेश नेपालीको।
नेपाली ‘कमरेड युगीन’ का नामले बढी परिचित छन्। उनले आफ्नो फेसबुक प्रोफाइमा कमरेड युगीन भनेर नाम लेखेका छन्।
नेपाली गएको भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि इजरायल पुगेका थिए। सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायका आठौँ सेमेस्टरका विद्यार्थी हुन्, उनी।
गणेश अखिल क्रान्तिकारी विश्वविद्यालय राष्ट्रिय समिति सुदूरपश्चिम प्रदेशको सचिव पनि हुन्। भोपुरस्थित गणेशको परिवार अहिले भावह्विल छ।
परिवारमा कान्छा छोरा रहेका उनी पढाइमा तीक्ष्ण थिए। उनले विद्यालय तहको शिक्षा बझाङकै सत्यवादीमा अध्ययन गरेका थिए।
आइएसी चितवनको रामपुर क्याम्पसबाट पुरा गरेका नेपाली थप अध्ययनका लागी उनि सुदूरपश्चिम विश्वविद्यालयको आगिंक क्याम्पस टिकापुरमा भर्ना भएका थिए। क्याम्पसबाटै विद्यार्थी राजनीति सुरुवात गरेका गणेश अखिल क्रान्तिकारीको कार्यकारी भूमिकामा थिए।
चितवनको रामपुर क्याम्पस स्ववियू उपसभापति चेतराज जोशीले सम्झिँदै भने, ‘उहाँ एकदमै मिलनसार हुनुहुन्थ्यो। सङ्गठनको निर्माणका बारेमा बारम्बार कुरा भइराख्थ्यो। छलफल गरौँ भनेर निरन्तर सम्पर्क गरिरहन्थे। तर, हिजो एक्कासि यो घटनाले हामीलार्ई मर्माहत बनाएको छ । सङ्गठनको एक योद्धा गुमाउँदा ठुलो क्षति भएको महसुस गरेका छौँ।’