धनगढी: नेपाल विद्यार्थी संघ (नेविसंघ) को धनगढी उपमहानगरपालिका समितिले युवा विद्यार्थीहरुलाई प्रशिक्षण दिलाएको छ। आज (मंगलबार) धनगढीको वडा नम्बर १९ मा विद्यार्थीलाई प्रशिक्षण दिइएको हो।
पछिल्लो समय साइबर स्क्याम र साइबर अपराध बढिरहेकोले प्रशिक्षण दिइएको नेविसंघ धनगढी उपमहानगरका सभापति दिपेश बोहराले जानकारी दिए। उनका अनुसार पछिल्लो समय धनगढीसहितका क्षेत्रमा मोबाईल फोनबाट ठगी हुने, ह्याकिङ, ब्ल्याकमेलिङजस्ता घटना बढिरहेकाले प्रशिक्षण दिइएको हो। विद्यार्थीलाई साइबर स्क्यामबाट बच्न र मोबाईल फोनको दुरुपयोग नभएर सदुपयोग गर्न भन्दै प्रशिक्षण दिएइको उनले बताए।
फुलबारी माध्यमिक विद्यालयमा दिइएको उक्त प्रशिक्षणमा सो स्कुलका कक्षा ११ र १२ का डेढ सय विद्यार्थी सहभागी थिए। नेविसंघ धनगढीको समितिले आफ्नै लगानीमा आयोजना गरेको सो प्रशिक्षण आइटी इन्जिनियर रोशन श्रेष्ठ दिएका थिए।
प्रशिक्षण कार्यक्रममा विद्यार्थी, गुरुहरुसहित वडाध्यक्ष बाधुराम चौधरीसमेतको सहभागीता थियो।