काठमाडौं : सशस्त्र प्रहरी गण नम्बर ७ सिरहाका एसपी प्रमोद भारती तानिएका छन् ।
भन्सारछली चोरी तस्करी गर्नेहरुलाई संरक्षण दिएको पुष्टि भएपछि उनलाई सशस्त्र मुख्यालयमा तानिएको छ ।
राजस्व अनुसन्धान विभागले पटक पटक भन्सारछलीका करोडौं मूल्यका कपडा बरामद गरेपछि उनलाई मुख्यालयले तानेको हो ।
७ नम्बर गण सिरहाको नयाँ एसपीका रुपमा शिव गरैलार्ई खटाइएको छ । एसपी भारतीलाई सशस्त्रको मधेश प्रदेश कार्यालयमा छानबिनका लागि तानिएपछि उनले पुनः फर्किन धेरै प्रयास गरेका थिए । माडरका सशस्त्रका डीएसपी रामहरि खड्का पनि बाहिनीमा छानबिनका लागि तानिएका थिए । रामहरि खड्का सशस्त्रका पूर्वएआईजी नारायणबाबु थापाका पीए बसेकाले उनीमार्फत् आइजीपी राजु अर्याललाई भनसुन गराएर फर्किने योजना तुहिएको छ ।
थापाको अर्यालसँग राम्रो सम्बन्ध भएकाले डीएसपी खड्कासँगसँगै आफू पनि पुनः गणपतिमै फर्किने दाउमा थिए । तर तस्करीका सामान राजस्वले बरामद गरेको र सशस्त्रको प्रतिष्ठामै आँच आउने भएपछि भारतीलाई तानिएको छ ।
यसैबीच, सिरहाका एसपी भारतीले संगठनको नीति बिपरीत तस्करहरुसँग मिलेमतो गरेको पुष्टि भएपछि सशस्त्र प्रहरी बलको मुख्यालयले इन्स्पेक्टर हरिसिंह बिष्टको कमान्डमा मधेस प्रदेशका ८ वटै जिल्लामा तस्करी नियन्त्रणका लागि टोली खटाएको छ । सशस्त्रले मधेशका ८ वटै गणमा रहेका डिएसपीको कमान्डमा गुल्मलाई बिशेष अलर्ट रहन निर्देशन दिएको छ । तराईमा कार्यरत तस्करीमा मिलेमतो भएका र लामो समय काम गरेका प्रहरीदेखि माथिल्लो दर्जाका कर्मचारीलाई सरुवा गर्ने योजना सशस्त्र प्रहरीले बनाएको छ ।