काठमाडौं : विद्युतीय सिगरेट (भेप) मा लुकाइ सुन तस्करी गरेको अभियोगमा राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महरासहित, लोकेन्द्रकुमार पौडेल, बेल्जियम घर भई हाल काठमाडौं बस्ने दावा छिरिङ र काठमाडौंका निमा गुरुङलाई प्रतिवादी बनाएको छ। प्रतिवादी ४ मध्ये निमा फरार छन्। राहुल माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद भएको थियो। जाँच गर्दा त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बाको मिलेमतोमा गोदाममा भएको भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरेको खुलेको थियो। भेप साटफेर भएको थाहा पाएपछि खोजबिन गर्दा बरामद भएको भेपमा करिब ९ किलो सुन भेटिएको र त्यसलाई बिक्री गरेको खुलेको हो।