काठमाडौं: एक हप्ताअघि सिक्किमको टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएका १० जना नेपालीहरूको खोजीका लागि पहल गरिदिन भारतीय पक्षसँग माग गरिएको छ। असोज १७ गतेको बाढीमा परी इलामका १० जना बेपत्ता भएको उनीहरूका आफन्तले बताएका छन्।
काम गर्नका लागि गएका इलाम नगरपालिका–९ का उनीहरू बाढीको घटनापछि सम्पर्कविहीन भएको स्थानीय बासिन्दाको भनाइ छ। सम्पर्कविहीन भएकामा इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुसी बस्नेत, कुमार बस्नेतलगायत छन् । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार नेपालीहरू सम्पर्कविहीन भएको जानकारी आएपछि भारतीय पक्षसँग खोजी र उद्धारका लागि पहल भइरहेको छ ।
भारतीय सुरक्षाकर्मी र प्रशासनसँग कुरा गरी बेपत्ता भएका नेपालीहरूको खोजी र उद्धारको पहलका लागि समन्वय भइरहेको प्रशासन कार्यालयले जनाएको छ।
Facebook Comments Box