काठमाडौं: सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) का पूर्व उपाध्यक्ष भीमबहादुर रावललाई देखाएर नेता झपट रावलले उपसचिव पदमा बार्गेनिङ गरिरहेको आरोप लागेको छ। झपटकै उक्साहटमा लागेर अध्यक्षमा उम्मेदवारी दिएका संविधानसभा सदस्य तथा अछामका पूर्व अध्यक्ष भरत साउदले उम्मेदवारी फिर्ता लिन तयार भएका बेला रावलले दबाब दिइरहेका एक नेताले बताए।
रावलले उपसचिवमा भीम रावलकाे काेटाबाट भन्दै उपसचिवमा साउदकै प्यानलमा रहेका कञ्चनपुरका नरबहादुर बिकलाई अघि सारेका छन्।
उनले सचिव पदका उम्मेदवार रतन रेग्मीलाई पनि उम्मेदवारी फिर्ता नलिन दबाब दिइरहेका छन्। संस्थापन पक्षका उपसचिवका उम्मेदवारलाई उम्मेदवारी फिर्ता नलिए आफूले अध्यक्ष, सचिव र उपसचिवका उम्मेदवारकाे उम्मेदवारी यथावत् रहने बताइरहेका छन्। कतिसम्म भने रावलले अध्यक्षका उम्मेदवार साउद र सचिव रेग्मीकाे उम्मेदवारी फिर्ता लिने हस्ताक्षरसहितकाे फारम आफ्नाे खल्तीमा राखेर नेताहरूलाई धम्क्याइरहेका छन्। यस्तै बार्गेनिङ गर्न रावल पक्षले ९ वटै जिल्लामा प्रतिनिधिमा पनि भागबन्डा खाेजेका थिए।
जसका कारण सहमतिकाे प्रयासले अन्तिम रूप लिएकाे छैन भने निर्वाचन प्रकृिया लम्बिएकाे छ। अध्यक्षमा उम्मेदवारी दिएका अछामका कृष्णप्रसाद जैशीकाे नाममा सहमति गर्नेगरी नेताहरूले कमल तिमिल्सिना र वचनबहादुर सिंहकाे उम्मेदवारी फिर्ता गराएका छन्।
नेता भीम रावल निकट मानिने साउदले उम्मेदवारी फिर्ता लिए पदाधिकारी सर्वसम्मत चयन हुनेछन्। त्यसका लागि संस्थापन पक्षले उपसचिव साउदलाई दिनुपर्नेछ। संस्थापन पक्षका नेताहरू साउदबाट आएकाे प्रस्तावका विषयमा छलफलमा जुटेका छन्।
तर यता झपटले भने बार्गेनिङ नभएको र सबै पदाधिकारीमा सहमति भैसकेको बताए। पदाधिकारीसहितमा सहमति भएकोले केही समयले सबै कुरा टुंगिने उनको भनाई छ।