कञ्चनपुर : व्यापारीहरुले कञ्चनपुरको महेन्द्रनगर बजार बन्द गरेका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हेम विक्रम थापाको अगुवाइमा महेन्द्रनगर बजार बन्द गरिएको छ।
प्रहरीले चाडपर्वको मुखमा छापा मारेर व्यवसायीहरूलाई आतंकित गरेको भन्दै त्यसको विरोधमा बजार बन्द गरेको उनले बताए । व्यवसायीहरूले कञ्चनपुर उद्योग वाणिज्य संघ मौन रहेको भन्दै दुखः समेत प्रकट गरेका छन् ।
प्रहरीले गत शुक्रवार तस्करीका प्लास्टिकजन्य सामानको गोदाममा छापा हानेको थियो। त्यहाँबाट ११ लाखका भन्सार छलीका सामान बरामद गरिएको थियो। जिल्लाको भीमदत्त नगरपालिका–१८ का सुशील गुप्ताले सञ्चालन गरिरहेको हिमांशु प्लास्टिक स्टोरको गोदाममा छापा मारिएको थियो। प्रहरीले पसलका सञ्चालनमाथि अनुसन्धान गर्दैछ।
बुधवार फेरि कञ्चनपुर प्रहरीले नौ लाखका सामान नियन्त्रणमा लिएको थियो। जिल्लाको भीमदत्त नगरपालिका–४ का विष्णु गुप्ताको पसल र गोदाममा प्रहरीले छापा मारेका हो। प्रहरी टोलीले गुप्ताको पसल र गोदामबाट ९ लाख रुपैयाँ मूल्य बराबरका खाद्यान्न सामग्री र किराना सामान फेला पारेको बताइएको छ ।
प्रहरीले गुप्तालाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।