धनगढी : रणबहादुर चन्द। सुदूरपश्चिमको राजनीतिमा चिरपरिचित नाम हो।
अनेरास्ववियुको पञ्चोदय कमिटीबाट एमालेको राजनीति थालेका उनै चन्द बिहीबार सुदूरपश्चिम प्रदेश सचिवमा सर्वसम्मत रुपमा चयन भएका छन्।
उनीसँग प्रतिस्पर्धामा उत्रिएका राजेश खाती, जीवन बम र रतन रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि चन्द सर्वसम्मत निर्वाचित भए।
झण्डै ३० वर्षदेखि एमालेको राजनीतिमा सक्रिय चन्दले पार्टीको कैलाली सचिवका रुपमा रहेर काम गरिसकेका छन्।
चन्दको योग्यता, क्षमता, दक्षता, पार्टी निर्माणमा खेलेको भूमिका तथा नेतृत्व गर्न सक्ने खुबी लगायतका कारण पार्टी नेतृत्व र आम नेता, कार्यकर्ताले विश्वास गरेर चन्दलाई प्रदेश सचिवको जिम्मेवारी दिएको छ।
दुई वर्ष अघि पार्टी गुटबन्दीको सिकार भएर कैलाली जिल्ला अध्यक्षमा २ मतले पराजीत भएका चन्दलाई प्रदेश सचिवको जिम्मेवारी दिएपछि पार्टीले उचित मूल्याङ्कन गरेको आम नेता, कार्यकर्ताले बताइरहेका छन्।
चन्दले पनि पार्टीलाई एकताबद्ध, सुदृढ र गतिशिल बनाउनेगरी योजनाबद्ध रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
को हुन् चन्द ?
धनगढी उपमहानगरपालिका–४ मा बस्दै आएका चन्द ३० वर्षदेखि एमालेको राजनीतिमा सक्रिय छन्। उनले धनगढीको पञ्चोदय माध्यमिक विद्यालयबाट राजनीतिक यात्रा थालेका थिए।
चन्द ३० वर्षअघि २०५० सालमा अनेरास्ववियुुको पञ्चोदय माध्यमिक कमिटि सदस्य भए। २०५२ सालमा भने उनी बहुुमुखी क्याम्पसको अध्यक्ष बनेका थिए।
कैलाली क्याम्पको अध्यक्ष भएर विद्यार्थीका पक्षमा उनले खेलेको भूमिकाको अहिले पनि प्रसंशा हुने गर्छ। त्यसपछि उनले अनेरास्ववीयुको जिल्ला कमिटि सदस्य, सचिव, अध्यक्ष हुँदै राष्ट्रिय परिषद् सदस्य भएका रुपमा समेत काम गरिसकेका छन्।
२०५८ सालमा चन्द पार्टीको धनगढी नगर कमिटि सदस्य हुुँदै सचिव भएका थिए। लगत्तै उनी पार्टीको जिल्ला कमिटि सदस्य बनेका थिए।
सातौँ जिल्ला अधिवेशनबाट चन्द कैलाली जिल्ला कमिटि सचिवमा विजयी भएका थिए। माओवादी केन्द्र र एमाले पार्टी एकीकरणपछि बनेको नेकपामा पनि उनले सचिवकै जिम्मेवारी पाएका थिए।
तर जब तत्कालीन अध्यक्ष दीर्घ सोडारी कारवाहीमा परे त्यसपछि उनले उपाध्यक्षको जिम्मेवारी निर्वाह गरे। एमाले विभाजनपछि पनि उनी उपाध्यक्षकै रुपमा काम गरिरहेका थिए।
विशेषः युुवाहरुमा बढि लोकप्रिय मानिएका चन्दले कैलालीमा नेकपा एमालेको राजनीतिलाई जोगाउन र सुदृढ पार्नमा महत्वपूूर्ण भूमिका निर्वाह गरेको पूूराना नेताहरु बताउँछन्।
समूहगत निर्णयको भावनाबाट प्रेरित चन्दमा सबैलाई समेटेर लैजानुुपर्छ भन्ने मान्यता रहेको उनीहरुको भनाइ छ।