काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (ईयू)की कमिस्नर जुट्टा उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरेका छन् ।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिने क्रममा मोरक्कोको मारकेसमा रहेका अर्थमन्त्री महतले साइडलाइन वार्तामा युरोपियन कमिस्नरसँग यस्तो आग्रह गरेका हुन् ।
उनले ईयूलाई नेपालमा आर्थिक सहायता बढाउन आग्रह गरे । सन् २०१३ देखि ईयूले नेपालका वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ । जसले नेपाली वायुसेवा कम्पनीले युरोपको आकासमा उडान गर्न पाउँदैनन् ।
ईयूले २०७९ असारमा नेपालका वायुसेवा कम्पनीको अनुगमन गर्दा हवाई सुरक्षा चासोबाट हटाउन अस्वीकार गरेको थियो । २०७९ फागुनमा ईयूले हवाई सुरक्षाको अवस्थाका विषयमा स्थलगत अनुगमन गर्ने योजना सार्वजनिक गरेको थियो । तर, गत माघमा पोखरा विमानस्थलमा भएको दुर्घटनापछि ईयूको टोली नेपाल अनुगमनमा आएको छैन ।
यस वर्ष गत साउन र भदौमा ईयूको हवाई सुरक्षा कमिटीले नेपाली बायु सेवा कम्पनी र हवाई सुरक्षाको विषयमा स्थलगत अध्ययन गरेको छ ।