काठमाडौं: इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ । उनीहरूलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरूलाई लिन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरू इजरायल गएका थिए ।
तर, इजरायलमा हमास समूहको आक्रमणपछि सम्पर्कविहीन बनेका बैतडीका विपीन जोशीको अत्तोपत्तो छैन । जोशी अपहरणमा परेको आशंका गरिएको छ । इजरायलबाट हवाई उद्धार गरी स्वदेश ल्याइएका नेपाली विद्यार्थीहरूका अनुसार जोशी हमास समूहको अपहरणमा परेका हुन् । तर परराष्ट्रमन्त्री एनपी साउदले भने जोशी सम्पर्कविहीन रहेको र उनको खोजी भइरहेको बताए ।
हमासले हानेको ग्रिनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिएका थिए । १७ जना नेपाली बसेको कोठामा आएको मिसाइल जोशीले नफालेको भए सबै जना नबाँच्ने इजरायलबाट नेपाल फर्केकी नेपाली विद्यार्थी बिबुशा अधिकारीले बताइन् ।
जोशीलाई हमास समूहले लगेको उनले बताएकी छन् । ‘मेरो साथी रियल हिरो हो । किन भने उ बसेको बंकरमा दुईवटा ग्रेनेट फालिएको थियो । तर उसले एउटा ग्रिनेट बाहिर फाल्यो । नत्र १७ जना सबैको ज्यान जाने थियो । विपीनले गर्दा ६ जना बचे’ उनले भनिन्, ‘मुख्य कुरा उसले सबैलाई बचायो तर उसलाई भने हमासले लगेछ । अब हाम्रो एउटै माग छ, सेभ हिम।’
बैतडीको दोगडाकेदार गाउँपालिका–१, रिमका विपिन जोशी भदौ अन्तिम साता इजरायल गएका थिए । हमासको आक्रमणपछि उनी शनिबारदेखि सम्पर्कविहीन छन् । विपिनको विषयमा परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली राजदूतावासको आफू नियमित सम्पर्कमा रहेको जानकारी दिँदै उनका दाजु किशोर जोशीले आफूहरु तनावमा रहेको बताए ।