धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकामा प्रज्ञापन पत्रभन्दा बढी सामान ल्याएको एक भारतीय नम्बरको ट्रकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ। हिजो कैलाली भन्सार कार्यालयबाट गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको श्री अंकित बस्त्रालयको नाममा प्रज्ञापन पत्र जारी भई अत्तरियातर्फ जाँदै गरेको यूपी२१सीएन८८८७ नम्बरको भारतीय ट्रक प्रहरीले रोकेर नियन्त्रणमा लिएको हो।
धनगढीको ट्राफिक चौराहामा प्रहरी टोलीले उक्त ट्रक चेकजाँच गर्दा प्रज्ञापन पत्रमा उल्लेख भएको परिमाणभन्दा बढी र घोषणा नभएको माल सामान फेला पारेको सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ।
टोलीले नियन्त्रित ट्रक त्रिनगर भन्सार कार्यालय कैलालीमा लगेर पुनः चेकजाँच गर्न लगाएको थियो। चेकजाँच गर्दा प्रज्ञापन पत्रमा उल्लेख नभएका १ हजार ८० थान ब्ल्याङकेट, १ हजार २५१ मिटर उलन सुटको कपडा र हजार थान लेडिज सल फेला परेको थियो।
ती सबै सामानको भन्सार र जरिबाना गरेर २० लाख ९२ हजार ९२४ तिराएर ट्रक छाडिएको हेडक्वाटरले जनाएको छ।