बझाङ: बझाङ भूकम्पका कारण जिल्लाका १२ हजार ३७६ वटा घर तथा भवनमा क्षति पुगेको छ। जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाका १२ वटै पालिकाबाट प्राप्त विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। विवरण अनुसार जिल्लामा दुई हजार ४४५ घरमा पूर्ण क्षति पुगेको छ।
यस्तै छ हजार ८४ आंशिक र तीन हजार ५२४ घरमा सामान्य क्षति पुगेको छ। भूकम्पबाट १२३ वटा सरकारी भवन तथा कार्यालय पूर्ण क्षति र १५२ भवनमा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। जलविद्युत्, शौचालय, सामुदायिक भवनतर्फ ५० वटामा क्षति भएको छ। भूकम्पमा जिल्लाभरि छ वटा चौपाया मरेका थिए। यस्तै एकजनाको मृत्यु भएको थियो।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली बझाङ पुगेर भूकम्पको क्षति तथा पुनर्निर्माण सम्बन्धमा अध्ययन गरेको थियो। जिल्लाको जयपृथ्वी नगरपालिका, मष्टा गाउँपालिका, थलारा गाउँपालिकालगायत स्थानीय तहका विद्यालय भवन भत्किएकाले विद्यालय बन्द अवस्थामा छन्।
जिल्लाका झन्डै आठ हजारभन्दा बढी नागरिक त्रिपालमुनि रात काट्न बाध्य छन्। असोज १६ पछि झन्डै ५२० पटक परकम्प गइसकेको छ।