काठमाडौं – नेकपा एकीकृत समाजवादीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा निःशुल्क उपचार, निःशुल्क शिक्षादेखि हरेक घरलाई मासिक दुई सय युनिटसम्म निःशुल्क बिजुली उपलब्ध गराउने विषय उल्लेख गरिएका छ्न । त्यस्तै एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिए ।
त्यसैगरी घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ लगायतका कार्यक्रमहरू समावेश गरिएको छ ।
घोषणापत्रको पृष्ठभूमीमा हाम्रो विद्रोह, पार्टी पुनर्गठन र स्थानीय सरकारसम्बन्धी दृष्टिकोण शीर्षकमा नेकपा एमालेसँग विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नको कारण उल्लेख छ । नेकपा (एमाले) को नेतृत्वमा विकसित भएको दक्षिणपन्थी अवसरवाद, गैरकम्युनिस्ट विचार, आचरण, तानाशाही र षड्यन्त्रकारी कार्यशैली सुधार्न नसकिने ठहर गरिसकेपछि विद्रोह गर्नपरेको उल्लेख गरिएको छ ।
स्थानीय विकासका सन्दर्भमा विगतका अनुभव एवं शिक्षा तथा स्थानीय सरकारका माध्यमबाट जनसेवा गर्न सकिने बारेमा पार्टीको प्रतिवद्धता लगायतका विषय समेटेर स्थानीय निर्वाचन घोषणापत्र–२०७९ जारी गरेको उल्लेख छ । एकीकृत समाजवादीले आगामी निर्वाचनमा कलम चुनाव चिन्ह लिएर जनताका माझमा उपस्थित हुन लागेको जानकारी पनि गराएको छ ।