दार्चुला – छ महिना व्यास र छ महिना दार्चुला सदरमुकाम खलंगा बसाइ सर्ने व्यासीहरुको कुञ्चा अर्थात बसाई सराई हुने तयारी भएको छ ।
व्यास गाउँपालिका वडा नम्बर १ तिकंर र छाङरुबासी ब्यासी सौकाहरु गाउँबाट जिल्ला सदरमुकाम आउनजान स्वदेशी भुमिको बाटो नहुदा भारतीय बाटोको प्रयोग गर्न बाध्य छन् ।
गाउँसम्म हिमपात भएपछि चिसो छल्न गत मंसीर महिनामा खलंगा झरेका व्यासीहरु बैसाखको केही दिनमा लालाबाला, बस्तुभाउँ, खाद्यान्न सहित गाउँ फर्किने तयारी रहेका छन । दार्चुला सदरमुकाम खलंगाबाट १२ हजार फिट उचाईमा बसोबास रहेका एक सय बढी परिवार छाङरु र तिंकरबासी ६ दिनको हिडाईपछि भारतीय बाटोको प्रयोग गर्दै गाउँ पुग्ने गरेको स्थानिय पार्वती तिकंरीले बताउनुभयो ।
सदरमुकाममा गर्मी बढेसंगै व्यासीहरु घोडा, खच्चर, झुपहरु सहित भारतीय बाटोको प्रयोग गरेर गाउँमा कुञ्चा सर्ने योजनामा रहेका छन । व्यास गाउँपालिकाले तिकंरसम्म पुग्ने बाटो मर्मत एबं पुननिर्माण गर्न बर्षेनि लाखौ बजेट बिनियोजन गरेपनि अहिलेसम्म गुणस्तरीय काम नहुदा स्वभिमानको स्वास फेर्दै स्वदेशकै बाटो भएर सदरमुकाम आवतजावत गर्ने ब्यास बासीको धोको पुरा हुन सकेको छैन । भारतले समेत सडक निर्माण गरिरहेका हुँदा ठाउँ ठाउँमा बाटो अवरुद्ध भएर पशु चौपाया गाउँसम्म लैजान जोखीम हुने गरेको छ ।
पञ्चायतकालसम्म नेपालकै बाटो भएर कुञ्चा सरेपनि पछिल्लो समय भारतको बाटो भएर आउँनुपर्दा बिभिन्न समस्याहरु भोग्नुपरेको ब्यासका ६१ बर्षिय स्थानिय पुरन सिह तिकंरीले दुखेसो पोख्नुभयो ।
व्यास बासीसंग नागरीकता मात्रै नेपाली छ, अरु सबै सेवासुबिधा भारतको लिनु परेको छ । घरपालुवा जनावरहरुसहित एकसाथ बसाइ सर्दा भारतीय पक्षबाट बिभिन्न समस्याहरुको सामना गर्नुपर्ने तिकंरीले गुनासो गर्नुभयो । अहिलेसम्म व्यासको तिकंरसम्म पुग्ने बाटो बनाउँने नाममा नेताहरुले पेट भर्ने काम मात्रै गरेको व्यासबासीको गुनासो छ । गाउँसम्म पुग्ने दार्चुला तिकंर सडक निर्माण समयमै सम्पन्न नहुदा आफुहरुको यातायात सपना अधुरै रहेको उहाँले बताए ।
सदरमुकाम खलंगाबाट गाउँ पुग्न एकसाता लाग्छ, व्यास गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोक सिह बोहराले भन्नुभयो, भारतले आफ्नो बाटोमा प्रयोग गर्नको लागि अनुमति दिनुपर्छ । शुरुमा वडा कार्यालयमा निवेदन, वडाले जिल्ला समन्वय, जिल्ला प्रशासन कार्यालयमार्फत मान्छेको अनुमति बनाउँछन् भने पशुको लागि पशु क्वारेन्टाइनले स्वीकृत दिनुपर्छ । दुवैतिर झन्जटिलो प्रक्रिया छ । मान्छेको लागि भारत धारचुलाका उपजिल्ला अधिकारीलाई निवेदन लेख्नुपर्छ भने पशु चौपायाको लागि पशु पालन विभाग उत्तराखण्डलाई निवेदन चढाउनुपर्छ स्थानीय जीवन बोहराले भन्नुभयो ।
नेपाल भारत दुवैतिर उस्तै समस्या हुन्छ । देशमा तीन तहको सरकार बनेको छ ।जनप्रतिनिधिहरुलाइ समेत व्यासबासीको समस्या राम्रैस्रग थाहा छ तर आफ्नै भूमि जान बाटो बनाउन सकिरहेका छैनन् । अर्काको भूमी प्रयोग गरेर जाँदा कम्ता दुख छैन् । बसाई सराई स्थानीय भाषामा (कुञ्चा) सर्ने तयारी गर्न झण्डै एक महिना समय लाग्छ ।
नेपालतिर कुञ्चा सर्नको लागि मान्छे हिड्नसमेत साँघुरो बाटो छ । खलंगाबाट हिडेका व्यासीहरु क्रमश ऐलागाड, पाङ्ला, नज्याङ, लामारी, बुदी, गागा छाङ्गरु हुँदै छैटौ दिन तिंकर पुग्ने गर्छन् ।
स्थानीय वर्षको एक पटक उवा, नप्पल, तिते फापर, पल्ती र आलु प्रमुख खाद्य बालीको रुपमा लगाउने गर्छन् । यहाँका स्थानीय कुञ्चा सर्दा सम्पूर्ण परिवारको साथै पशुहरु, खाने राशन, कपडा र भाडाकुडासहित आउने जाने गरेका छन् ।
व्यासको छांगरु र तिंकरमा मात्रै झण्डै एक हजार बढि जनसंख्याको बसोबास छ । परापूर्वकालदेखि नै व्यासीहरुको दोहोरो बसाई हुँदै आएको छ । उनीहरुको घर जग्गा जमिन सदरमुकाम खलंगामा समेत छ । उनीहरुले व्यासको छांगरु तिंकर जस्तै खलंगामा तिंकर छांगरुको बसाई छुट्टाछुट्टै बस्ने गरेका छन ।