काठमाडौं: हवाई भाडामा एयरलाइन्स कम्पनीहरुको मनपरी बढेको छ। आन्तरिक उडानमध्ये सबैभन्दा लामो दूरीमा रहेको काठमाडौं–धनगढीको हवाइ भाडा दर दसैं नजिकिएसँगै बढेर दोब्बर पुगेको हो।
काठमाडौंबाट धनगढी आइपूग्ने यात्रुबाट १७ हजारका दरले निजी कम्पनीका एयरलाइन्सहरुले रकम असुल्न थालेका हुन्। सामान्यतया काठमाडौं–धनगढीको हवाइ यात्रा गर्न १ घण्टा १५ मिनेट लाग्छ। तर १ घण्टा ४५ मिनेटको दूरीमा रहेको भारतको नयाँ दिल्लीसम्मको टिकट भने बढीमा १४ हजारमै उपलब्ध हुन्छ।
काठमाडौं–धनगढी भन्दा काठमाडौंबाट भारतको राजधानीको टिकट सस्तो भएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुन थालेको छ। पछिल्लो समय इवाई इन्धनको मुल्य समेत बढेको छैन। तर, हवाई सेवाको भाडादर यसरी किन बढ्यो भन्ने प्रश्न सबैको मनमा आइरहन्छ।
यस विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले दिल्लीको तुलनामा धनगढीमा साना जहाज उड्ने भएकाले भाडा महँगो परेको बताए। यात्रु काठमाडौँबाट धनगढी जाने मात्रै हुने र धनगढीबाट काठमाडौँ आउने नहुँदा अधिकतम भाडा लिइएको उनको तर्क छ।
यस्तै बुद्ध एयरका सेल्स एन्ड मार्केटिङ प्रमुख रुपेश जोशीले सरकारले १३ प्रतिशत भ्याट लगाएकाले भाडा बढ्नुु स्वाभाविक भएको दाबी गरे। उनले पनि दसैँमा एकतर्फी यात्रु मात्रै हुने भएकाले पूर्ण भाढा लिन बाध्य भएको बताए।