बारा : सीमा क्षेत्रबाट निर्वाध तस्करी गर्दैआएका तस्करहरुलाई नियन्त्रण गर्न खोज्दा उल्टै जिल्ला प्रहरी कार्यालय बाराको टोलीलाई स्करहरुको समूहले आक्रमण गरेको छ ।
आइतबार राति छतवामा पुगेको जिल्लाको टोलीले भारतबाट तस्करीको धान नेपालतर्फ ल्याइरहेको अवस्थामा ४ वटा मोटरसाइकल र ५५ बोरा धान बरामद गरेको थियो । सोमबार पनि छतवामा जिल्ला प्रहरी कार्यालय बाराको टोली तस्करी नियन्त्रणमा खटिएको थियो । सोमबार भन्सारछली नियन्त्रणमा खटिएको जिल्ला प्रहरीको टोलीमाथि छतवा चौकीमै तस्करहरुको समूहले आक्रमण गरेको हो ।
जिल्लाका बिभिन्न नाकाबाट भन्सारछलीका सामान भित्रने गरेको सूचनापछि बारा प्रहरीले नाका नाकामा कडाइ सुरु गरेको छ । जिल्ला प्रहरीको टोली आइतबार धान बरामदपछि त्यस क्षेत्रमा तस्करी रोक्नका लागि सोमबार बिहान छतवा पुगेको थियो । तर तस्करी रोक्न पुगेको जिल्लाको टोलीमाथि एक्कासी तस्करको समूहले आक्रमण सुरु गरेको थियो ।
जिल्लाबाट खटिएको टोलीमाथि आक्रमण हुँदा छतवा चौकीका इन्चार्ज बरिष्ठ सई श्याम यादवसहित सबै प्रहरी चौकी नै खाली गराई हिंडेका थिए । तस्करहरुले सीमाका प्रहरी चौकी कसरी कब्जामा लिएर तस्करी गर्छन् भन्ने दृष्टान्त बाराको छतवा प्रहरी चौकीका प्रहरीहरु चौकी नै छाडेर हिंडेको घटनाबाट पुष्टि भएको छ ।
प्रहरी टोलीमाथि आक्रमण गरेको तस्करको समूहले आइतबार बरामद गरिएको १८ बोरा धान पनि लु्टेर लगेको छ । बारा प्रहरीका अनुसार चौकी खाली गरेर हिंडेका २ प्रहरीलाई जिल्लामा ल्याएर क्वाटर गार्डमा राखी छानबिन भइरहेको छ ।
छतवा चौकीका इन्चार्ज श्याम यादव भने अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन् । बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले चौकी खाली गरेर हिंडेकामध्ये छतवा चौकीका २ प्रहरीलाई छानबिनका लागि ल्याइएको बताए । उनले भने– इन्चार्ज श्याम यादव सम्पर्कमा आइनसकेको र चौकी खाली गरेर हिंड्नेहरुको बारेमा अनुसन्धान भइरहेको छ ।
इन्चार्ज यादवले नै बरामद धान लिन जाने जिल्लाको प्रहरी टोलीमाथि स्थानीयलाई उचालेर आक्रमण गर्न लगाएको आरोप छ । चौकी नै खाली गरेर हिंडेका प्रहरीलाई निलम्बन गर्नका लागि बारा प्रहरीका एसपी सुरेश काफ्लेले प्रहरी प्रधान कार्यालयमा सिफारिस गर्न लागेका छन् ।