धनगढी: कैलालीको गेटा अस्पतालले भोलिदेखि सेवा सुरु गर्ने भएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै अस्पतालले सेवा सुरु गर्ने बारे जानकारी दिएको हो।
यसका लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधि लगायतको प्रबन्ध भइसकेको छ।
अस्पताल सञ्चालनका लागि सहकायक स्तर र श्रेणीविहिन गरेर एक सय १० जना र नेपाल सरकार मन्त्रीपरिषदको २०८० असोज १६ गतेको निर्णयअनुसार राजपत्राकिंत तथा अधिकृत स्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएपछि अस्पताल सञ्चालनमा ल्याउन सहज भएको हो।
साथै गेटामा ओपिडी सञ्चालनका लागि मन्त्रालयले भदौ २१ गते अनुमति दिएको थियो। सेती प्रादेशिक अस्पतालकै सेवा शुल्क लिने गरी गेटामा अस्पताल सञ्चालन हुन लागेको अस्पतालका डाइरेक्टर प्रमोद जोशीले बताए।
अस्पताल सञ्चालनमा ल्याउने अहिले गेटामा निर्देशकसहित चिकित्सक तथा स्वास्थ्यकर्मी लगायत २६ जना जनशक्ति हाजिरी भइसकेका छन्।
जोशीका अनुसार अस्पतालले कात्तिक १ गतेदेखी जनरल ओपिडी, हाडजोर्नि तथा नसारोग ओपिडी, स्त्रीरोग सेवा ओपिडी, जनरल सर्जरी ओपिडी, अल्ट्रासाउन सेवा, एक्स–रे सेवा, प्रयोगशाला सेवा र फार्मेसी सेवा सुरु गर्ने भएको छ।