हेटौडा– बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले जनताको आवश्यक्ता र मागअनुसारको जनपक्षीय बजेट र कार्यक्रम ल्याउने बताउनुभएको छ ।
राष्ट्रिय बहिरा महासङ्घ नेपालद्वारा आज हेटौँडामा आयोजित बहिरामैत्री सेवा प्रवाहका लागि सरकारी तथा सरोकारवाला निकायसँग अन्तक्र्रियात्मक कार्यक्रममा उहाँले सामाजिक विकास मन्त्रालय सबै वर्ग र क्षेत्रको समस्या समाधान गर्न गम्भीर रहेको बताउँदै चालु आवको बजेट तथा कार्यक्रम छिटो र प्रभावकारीरूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।
उहाँले विगतका प्रभावकारी कार्यक्रम र नयाँ बजेटका लागि सुझाव पनि माग गर्नुभयो । अपाङ्गता भएकाको क्षमता अभिवृद्धिमूलक कार्यक्रम मात्र नभई दक्ष जनशक्ति उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री मोक्तानले अपाङ्गता भएकाले छिटो र सहजरूपमा सूचना लिन पाउने व्यवस्था गर्न आफूले पहल गर्ने बताउनुभयो ।
पछाडि पारिएका समुदायको हकअधिकार वृद्धि गर्न ऐन, कानून बनाउँदा सम्बन्धित सरोकारवालाको सहभागिता र सुझावलाई उच्च प्राथमिकता दिएको उहाँले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “प्रक्रिया अगाडि बढाउँदै जाँदा कहीँ न कहीँ संविधानले दिएको हकलाई पूर्णता दिन सक्दैन, कतै छुट्ला कि भनेर उहाँहरुलाई मस्यौदा बनाउन दिएको हो”, उहाँले भन्नुभयो, “बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले असाध्यै महत्वपूर्ण स्थान दिएको छ, महिला, बालबालिका, अपाङ्गतासम्बन्धी नीति, कानून निर्माण गर्दा सम्बन्धित क्षेत्रका गैरसरकारी सङ्घसंस्थालाई मस्यौदा बनाउन दिएका थियौँ ।”
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, एकीकृत समाजवादीका प्रदेशसभा सदस्य मुनु सिग्देल, सामाजिक विकास मन्त्रालयका सचिव श्रीकृष्ण नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत उषा गौतम, हेटौँडा उपमहानगरपालिकाका महिला तथा बालबालिका महाशाखा प्रमुख जगन्नाथ सापकोटालगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय बहिरा महासङ्घ बागमती प्रदेशका अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय बहिरा महासङ्घ नेपालका महासचिव सन्तोष केसीले प्रस्तुतीकरण गर्नुभएको थियो । रासस