धनगढी: सुदूरपश्चिममा सशस्त्र प्रहरी बल नेपालले सीमानाका व्यवस्थापन सहज र चुस्त बनाउन अभियान थालेको छ। जसका लागि प्रदेशको सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ वाहिनी अत्तरीया, कैलालीले “सीमावासीसँग सशस्त्र प्रहरी” अभियान थालेको हो।
सो अभियान अन्तरगत आज (बुधबार) वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेको प्रमुख आतिथ्यतामा कैलाली र कञ्चनपुरका सीमा ईलाकासंग जोडिएका वडाका वडा अध्यक्षहरुसहित सरोकारवालाबीच अन्तरक्रिया गरिएको थियो। डिआइजी न्यौपानेले वाहिनीमा कार्यरत अधिकृतसहित वडाध्यक्ष र पत्रकारसमेतको उपस्थितिमा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रममा थालिएको जानकारी दिए।
उनका अनुसार आजको अन्तरक्रियामा भारतसंग सीमा जोडिएका वडाहरुका २२ जना वडा अध्यक्षहरुको सहभागिता थियो। अन्तरक्रियाका क्रममा सीमा अतिक्रमण हुन नदिने र सीमा स्तम्भको सुरक्षामा सशस्त्र प्रहरीसंग सघन सहकार्य र समन्वय गर्ने, थप अतिक्रमण हुन नदिन स्थानीयस्तरबाट सहयोग गर्नुपर्ने कुरा उठान भएको बताइएको छ। यस्तै सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसार नियन्त्रणमा सहयोग र समन्वय गर्ने, जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्नुपर्ने लगायतका कुरा पनि अन्तरक्रियामा उठान भएका थिए।
त्यस्तै डिआइजी न्यौपानेले सशस्त्र प्रहरी बल नेपालले हालको कठिन परिस्थितिमा भौतिक संरचना र श्रोतसाधनको अभावमा समेत सीमा ईलाकामा परिचालित भई रहेकोले स्थानीय स्तरमा सीमा ईलाकामा रहेका वडा अध्यक्षहरु र सशस्त्र प्रहरी बल नेपालका इकाईहरुले हातेमालो गर्दै अगाडी बढनुपर्ने बताएका थिए।
यी हुन् अन्तरक्रियाका विषयवस्तुहरु
– सीमा अतिक्रमण हुन नदिने र सीमा स्तम्भको सुरक्षामा सशस्त्र प्रहरीसंग सघन सहकार्य र समन्वय गर्ने र थप अतिक्रमण हुन नदिन स्थानिय स्तरबाट सहयोग गर्नुपर्ने कुरा
-सीमा क्षेत्रमा हुने लागु औषध ओसारपसार नियन्त्रणमा सहयोग र समन्वय गर्ने र जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्नुपर्ने
-सीमा क्षेत्रका जनताहरुसंग व्यवसायिक रुपमा प्रस्तुत हुने र कहिकतै आचरण विपरितका
-कार्यहरु हुन नदिन सल्लाह सुझाव आदानप्रदान गर्नुपर्ने
-सो कार्यक्रम अत्यन्तै फलदायी भएकोले यसलाई निरन्तरता दिनुपर्ने