काठमाडौं– नेपाल सरकारले यसअघि निलम्बन गरेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबार (आज)देखि काममा फर्किने भएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशले उनी नियमित काममा फर्किन लागेका हुन् ।
२४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार सर्वोच्च अदालतले खुलाइदिएको थियो ।
न्यायाधीश हरि फुयाँलको एकल इजलासले मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनु’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो । तर, सर्वोच्चले योसँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । साथै सर्वोच्चले दुवै पक्षलाई १३ वैशाखमा छलफलका लागि बोलाएको छ ।