काठमाडौं : पाल्पाको रानीमहल तानसेन सडकखण्डको बैकुण्ठ भिरमा आइतबार साँझ स्कारपियो जीप दुर्घटना हुँदा दशैंको मुखमा एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।
७ जना सवार बागमती प्रदेश ०१–०२६ च ७२०९ नं को स्कारपियो जिप ७२०९ नम्बरको जिप साँझ करिब ५ बजेतिर सो स्थानमा दुर्घटना भएको हो । जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा चालक गम्भीर घाइते भएका छन् । उनीहरु एकै परिवारका हुन् ।
मृत्यु हुनेहरुमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं १६ रजहर का ६५ वर्षीय कृष्णबहादुर लोहनी, उनकी श्रीमती ५५ वर्षीय पार्वती लोहनी उनकी आफन्त ५५ पर्षीय चुना धिताल, बुहारी ३५ वर्षीय सविना धिताल,र नाती ११ वर्षीय सोविस लोहनी र साढे २ वर्षका अर्का एक बालक रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर जिपका चालक ३६ वर्षीय ईश्वर बहादुर लोहनी गम्भीर घाइते छन्। उनी मृतक लोहनीका छोरा हुन् ।
घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्लाबाट गएको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएका थिए । रानीमहल जाँदै गरेको जिप बैकुण्ठे पहाडबाट बराङ्दी जाँदै गरेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच रहेकाले उद्धारमा कठिनाइ भयो ।
पाल्पाका एसपी हेरम्ब शर्माका अनुसार बैकुण्ठ पहाडबाट सय मिटर भन्दा लामो छाँगो रहेको र उद्धार निकै कठिनाइ भएको थियो । दुई सय मिटर तल्लो भागबाट खोला भएर उद्धारका लागि पुग्नु पर्ने निकै समस्या परेको उद्दारमा संलग्न प्रहरी तथा स्थानीयको भनाइ छ ।
घाइते ईश्वर लोहनीको जिल्ला अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरु रानीमहल अवलोकन गरेर फर्कने क्रममा तानसेन नगरपालिकाको बैकुन्ठे छाँगोमा दुर्घटनामा परेका हुन् ।
सडकबाट झण्डै एकसय मिटर तल छाँगोबाट खसेको जिप खोलाका ढुंगामा बजारिएर क्षतविक्षत भएको छ। दुर्घटनास्थल सदरमुकाम तानसेनदेखि ११ किलोमिटर टाढा पर्छ । जिप खोलामा झरेको छ भने मृतकहरुको शवलाई खोलामा डुबेको अवस्थामा उद्धार गरिएको थियो।