दार्चुला – अपि नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने धौलीओडारमा पर्यटकीय आवास गृह भवन निर्माण गरिएको छ । अपिहिमाल गाउँपालिका १ को धौलीओडारमा संरक्षण क्षेत्र कार्यालयलाई जानकारीबीनै पर्यटकीय आवास गृह भवन निर्माण गरिएको हो ।सुदूरपश्चिम उद्योग पर्यटन वन वातावरण मन्त्रालयको कुल २५ लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो ।
भवन निर्माण गर्दा अपि नाम्पा संरक्षण क्षेत्रको जानकारीबीनै भवन निर्माण गरिएपछि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय विभागमा समेत उजुरी परेको छ ।भवन निर्माणबारे जानकारी नै नभएपछि दुवै क्षेत्रमा उजुरी परेको छ, अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले भन्नुभयो, भवन कसरी कहाँबाट भयो भन्नेबारे सोधखोज गर्दछौ ।यो क्षेत्र अपि नाम्पा संरक्षण क्षेत्रभित्र पर्दछ । पर्यटकीय आवास गृह पर्यटक लक्षित बनाएपनि समन्वय र अनुमति नलिएको पाइएको छ । धौलीओडारबाट अपिहिमाल पुग्न दुई घण्टा समय लाग्छ ।
तर संरक्षण क्षेत्रभित्र निर्माण गरिएका संरचनाबारे जानकारी समेत नभएको पाइएपछि अहिले भवन निर्माणको विषय छानबीनमा परेको हो । विभागबाट हामीलाई भवनको विषयमा बुझ्न भनिएको छ, पौडेलले भन्नुभयो, वनले बनाएको हो भने पनि हामीले फाइल मगाएर अध्ययन गर्छौ । भवन निर्माण भइसकेको हुँदा निर्माण गर्नेलाई हामी जरिवाना चाहीँ गराउँछौ पौडेलको भनाई छ ।
वन वातावरण मन्त्रालयको बजेट जिल्लामा डिभिजन वन कार्यालयमार्फत खर्च भइरहेको छ । पर्यटकीय आवास गृह निर्माण गर्दा ११ दशमलव ३६ घनमिटर काठ प्रयोग भएको छ । एक जना स्थानीयका अनुसार भवन निर्माणमा प्रयोग गरिएको काठको अनुमति छैन् । उपभोक्ता समितिले सामुदायिक वनबाट काठको अनुमति लिएको भनिएपनि सामुदायिक वनबाट भवन निर्माण गरिएको क्षेत्र ५ देखि ६ घण्टाको दुरीमा पर्छ ।
डिभिजन वनकै कर्मचारीका अनुसार भवनमा प्रयोग गरिएको काठ धौलीओडार क्षेत्र वरिपरिकै हो । कयौं काठ काटिएका छन् । केही ढलेका छन् । सोही काठ प्रयोग भएको हो । भवन निर्माणको लागि ०७८ असोज १२ गते उपभोक्ता समितिका अध्यक्ष सालिभानसिह लोथ्लालले सम्झौता गर्नुभएको छ । अहिलेसम्म भवन निर्माणको लागि १२ लाख ७९ हजार २११ रुपैयाँ पेश्की तथा रनिङबीलको नाममा भुक्तानी गरिएको छ ।
डिभिजन वन कार्यालय दार्चुलाका प्राविधिक राजेन्द्र रैखोला पर्यटकीय आवास गृह निर्माण गर्दा अपि नाम्पा संरक्षण क्षेत्रसँग समन्वय गरिएको दाबी गर्नुहुन्छ । हामीले आवास गृह निर्माण गर्ने विषयमा भेटेरै छलफल गरेका छौ, उहाँले भन्नुभयो, तर लिखित कागज केही गरिएन् । भवन निर्माणले पर्यटकलाई नै फाइदा पुग्छ ।तर स्थानीयले भने भवन निर्माण गर्दा काठको दुरुपयोग गरिएको दाबी गरेका छन् । जथाभावी काठ काटेर प्रयोग गरिएको स्थानीयले बताएका छन् ।अपिहिमाल गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष धनसिह जागरी आवास गृह निर्माणको लागि समिति गठनको जानकारी भए पनि अन्य प्रक्रियाबारे आफु जानकार नभएको बताउनुभयो ।
तिंकरको डोकाङमा आवास गृह निर्माण हुने
सुदूरपश्चिम उद्योग पर्यटन वन वातावरण मन्त्रालयकै सहयोगमा व्याँस गाउँपालिका १ तिंकरको डोकाङमा पर्यटकीय आवास गृह निर्माण हुने भएको छ । सुदूरपश्चिम प्रदेशको दार्चुलाको दुई ठाउँमा पर्यटकीय आवास गृह निर्माण हुन लागेको हो ।डोकाङमा काठबाट आवास गृह निर्माण हुन नसक्ने भएपछि ट्रसको आवास गृह निर्माण गरिन लागेको डिभिजन वन कार्यालय दार्चुलाका प्राविधिक राजेन्द्र रैखोलाले बताउनुभयो ।
कुल २५ लाख रुपैयाँ लागतमा भवन निर्माण गर्न नारायणसिह तिंकरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । भवन निर्माणको कार्य सुरु भएको छैन । उपभोक्ता समितिका अध्यक्ष तिंकरीले ७ लाख २५ हजार रुपैयाँ पेश्की लिएका छन् । छाङ्गरु तिंकरको बसाई सरेपछि पर्यटकीय आवास गृह निर्माणको काम अघि बढ्ने रैखोला बताउनुहुन्छ ।