धनगढी : नेकपा (क्रान्तिकारी कम्युनिष्ट पार्टी) का प्रवक्ता धर्मेन्द्र बाँस्तोला बिगत आठ दिनदेखि प्रहरी हिरासतमा छन्।
उनले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएपछि बाँस्तोला हिरासतमा रहेका हुन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत् कात्तिक २ गते राति पौने १० बजेतिर दाङको राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको नेता बाँस्तोलाले चलाएको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो।
उक्त दुर्घटनाका घाइते चौधरीलाई टाउकोमा चोट लागेको अवस्थामा प्रहरी नायब निरीक्षक डिएसपी जीवन केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्धार गरी स्वास्थ्य चौकी सिसहनियाँमा पुर्याएको भए पनि त्यसको केही बेरमै राति १० बजेपछि चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए।
घटनालगतै प्रहरीले नेता बाँस्तोलालाई नियन्त्रणमा लिएको थियो। त्यसयता उनलाई घटनास्थल नजिकै इलाका प्रहरी कार्यालय भालुवाङको प्रहरी हिरासतमा राखिएको छ।
दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले दसैं बिदाका कारण कात्तिक १२ गते मात्रै कार्यालय खुल्ने र त्यसपछि मात्रै अदालती प्रक्रियाको काम सुरू हुने हुँदा नेता बास्तोलाले अझै केही दिन प्रहरी हिरासतमा बस्नुपर्ने अवस्था रहेको बताए।
यो पनि पढ्नुहोस् :
धर्मेन्द्र बास्तोलाले मोटरसाइकल ठोके, चालकको मृत्यु