कैलाली : हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका बझाङको जयपृथ्वी नगरपालिका–६ का गणेशकुमार नेपालीको शव बझाङ पठाइएको छ।
बिहिबार राति १ बजे एम्बुलेन्समार्फत धनगढी ल्याइएको नेपालीको शव बझाङ पठाइएको हो। फ्लाई दुबईको विमानमार्फत बिहिबार बिहान ७ बजे काठमाडौं पुगेको नेपालीको शव राती धनगढी ल्याइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
शव राति १ बजे धनगढी पुगेको थियो। त्यसपछि धनगढी नेत्रालयको एम्बुलेन्समार्फत शवलाई बझाङ् पठाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। नेपालीको आज नै हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिने बताइएको छ। इजरायलमा हमासको आक्रमणमा परी १० विद्यार्थीको मृत्यु भएको थियो। नेपालीको शव बिहिबार राती धनगढी पुगेसँगै पाँच जनाको शव आफन्तको जिम्मा लगाइएको हो।
हमासको आक्रमणबाट मारिएकामध्ये सात जना सुदूरपश्चिम प्रदेशका छन्। हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव ल्याइसकिएको छ।